मुग्लिन नारायणगढ सडक खण्डमा रातिबाटै यातायात सुचारु भयो

जनता संवाददाता
२०८२ आश्विन १० गते, शुक्रबार

चितवन। तुइनखोलाको पहिरो हटाइएको छ । चितवनको मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोलामा आएको पहिरो हटाउने काम सम्पन्न भएपछि आजै रातिदेखि यातायात सुचारु गर्ने तयारी गरिएको छ ।

पहिरो हटाए पनि सडकको किनार छेउ पन्छाएर दुवैतर्फ सवारी साधन सञ्चालन गर्नेगरी तयारी भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । सबै पहिरो पन्छाएर दुइतर्फी सवारी साधन सञ्चालन गर्नेगरी तयारी भएको बताए ।

तीन दिनदेखि अवरुद्ध सडकको कारण रोकिएका सवारी साधनको चाप धेरै भएकाले एकै पटक साधन चलाउन मिल्नेगरी तयारी गरिएको हो । अहिले धमाधमन सडक सफा गर्ने काम भइरहेको छ ।

मङगलबार साँझ झरेको पहिरो बुधबार बिहानैदेखि पन्छाउन थालिएको थियो । बिहीबार पनि दिनभर पहिरो हटाउने काम भएको छ । यस अगाडि रातको समयमा काम बन्द गर्ने गरिएकोमा आज भने साँझ ६ बजेदेखि बत्ती बालेर काम गरिएको हो ।

यसअघि असोज ३ गते सोही स्थानमा पहिरो खसेको थियो । त्यसलाई पन्छाएर ४६ घण्टापछि सवारी साधन सञ्चालनमा ल्याइएको थियो । सञ्चालनमा ल्याएको केही घण्टापछि पुनः सोही स्थानमा ठुलो पहिरो खसेपछि मङगलबार साँझदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर केहीबेरमा यातायात सञ्चालन गर्ने तयारी भएको सूचना अधिकारी आचार्यले जानकारी दिए । पहिरो पन्छाउन ६ वटा उपकरको प्रयोग गरिएको छ ।

प्रकाशित मिति : २०८२ आश्विन १० गते, शुक्रबार


Scroll to Top

Janata Media