दुई पटकको विश्वविजेता वेस्ट इन्डिजलाई स्तब्ध पार्दै नेपालको ऐतिहासिक जित

जनता संवाददाता
२०८२ आश्विन १२ गते, आईतवार

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले बलरहरूको सानदार प्रदर्शन र उत्कृष्ट फिल्डिङको मद्दतमा विश्वविजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक टी(२० शृंखलामा विजयी सुरुवात गरेको छ।

शारजाहमा सम्पन्न पहिलो टी(२० खेलमा नेपालले प्रस्तुत गरेको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रनमा समेटियो। नेपालले सुरुवातदेखि नै कसिलो बलिङ र चुस्त फिल्डिङको नमुना प्रस्तुत गरेको थियो।

नेपालका लागि अलराउन्डर कुशल भुर्तेल नायक बने। उनले ब्याटिङमा मात्र नभई बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १७ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए।

उनले जेसन होल्डरलाई कप्तान पौडेलको हातबाट क्याच गराए भने नभिन बिदाइसीलाई हिट विकेटको सिकार बनाए। त्यस्तै, ललित राजवंशीले २ ओभरमा मात्र ६ रन दिएर १ विकेट लिँदै निकै किफायती बलिङ गरे। दीपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव र कप्तान रोहित पौडेलले पनि एक(एक विकेट आफ्नो नाममा लेखाए।

नेपालको उत्कृष्ट फिल्डिङका कारण वेस्ट इन्डिजका दुई ब्याट्सम्यान काइल मेयर्स र केसी कार्टी रनआउट हुन पुगेका थिए। जस कारण पनि खेलको नतिजामा ठूलो प्रभाव पार्यो। वेस्ट इन्डिजका लागि नभिन बिदाइसीले सर्वाधिक २२ रन बनाए भने अमिर जांगु र फाबियन एलेनले १९(१९ रन जोडे।

नेपालको संघर्षपूर्ण ब्याटिङ

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन बनाएको थियो। नेपालको सुरुवात निकै खराब रह्यो र १२ रनमै दुवै ओपनर कुशल भुर्तेल ९६० र आसिफ शेख ९३० लाई गुमाइसकेको थियो।

सुरुवाती संकटमा परेको नेपालको इनिङ्सलाई तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले उकासेका थिए। उनीहरूले ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्‍याए। कप्तान पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रनको योगदान दिए भने कुशल मल्लले २१ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३० रनको विस्फोटक पारी खेले।

त्यसपछि गुलशन झाले १६ बलमा २२ तथा दीपेन्द्रसिंह ऐरीले १९ बलमा १७ रन जोडेका थिए। वेस्ट इन्डिजका लागि बलिङमा अनुभवी अलराउन्डर जेसन होल्डरले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए भने नविन बिदाइसीले २९ रन दिएर ३ विकेट हात पारे।

यो जितसँगै नेपालले तीन खेलको शृंखलामा १(० को अग्रता लिएको छ। नेपालले अब दोस्रो र तेस्रो खेल क्रमशः असोज १३ र १४ गते खेल्नेछ।

प्रकाशित मिति : २०८२ आश्विन १२ गते, आईतवार


Scroll to Top

Janata Media