इन्डोनेसियामा भएको विद्यालय दुर्घटना, मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

जनता संवाददाता
२०८२ आश्विन १८ गते, शनिबार

काठमाडौं । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा एक विद्यालय भवन ढली दुर्घटना हुदाँ ज्यान गुमाउनेको सङ्ख्या आठ जना पुगेको एक वरिष्ठ उद्धार अधिकारीले शुक्रबार बताएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख सुहर्यान्टोले उद्धारकर्ताहरूले थप तीनवटा शव बरामद गरेको र मृतकको सङ्ख्या आठ पुगेको बताएका हुन् । जारी उत्खननमा भारी मेसिनरी तैनाथ गरिएको र ५५ जना अझै बेपत्ता रहेको उनले बताएका छन् ।

सुरुवाती समयमा उद्धारकर्मीहरू भारी उपकरणहरूले थप मृत्यु निम्त्याउन सक्छ भन्ने चिन्ताको कारण मुख्यतया मानविय स्रोतको भरमा उत्खनन गरेको जनाएका थिए ।

सिडोर्जो जिल्लाको बहुमंजिला अल खोजिनी इस्लामिक बोर्डिङ स्कुलको एक भाग सोमबार अनधिकृत नवीकरणको क्रममा ढलेको थियो, जसमा दर्जनौँ विद्यार्थीहरू फसेको जनाइएको छ ।

प्रकाशित मिति : २०८२ आश्विन १८ गते, शनिबार