नगरपालिका संघको अध्यक्षमा भीम ढुंगाना र महासचिवमा नरुलाल चौधरी चयन

जनता संवाददाता
२०७९ पुष ६ गते, बुधबार

काठमाडौं । नेपाल नगरपालिका संघको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन भएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित ढुंगाना संघको आठौं महाधिवेशनबाट ४३ सदस्यीय कार्यसमितिमा सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

यस्तै उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा चयन भएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् । यस्तै उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन भएकी छिन् ।

कोषाध्यक्षमा नेपाली कांग्रेसबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई र सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख एकीकृत समाजवादीकी मीना लामा चयन भएकी छन् ।

स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार संघको भागवण्डा भएको हो । देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।

प्रकाशित मिति : २०७९ पुष ६ गते, बुधबार


करार सेवा परिपूर्ति सम्बन्धि हिमाली गाउँपालिका, बाजुराको सूचना
Scroll to Top

Janata Media