काठमाडौँ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार जानकारी गराएको छ ।
सो अवसरमा राष्ट्रपतिले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न कार्यतालिका बमोजिमका सबै कार्य समयमै सम्पन्न गर्न निर्देशन दिए ।
राष्ट्रपतिले निर्वाचनमा सबै नागरिकको सहभागिता सुनिश्चित हुने वातावरण तयार गर्न, राजनीतिक दल तथा सरोकारवालाहरूसँग तत्काल छलफल अघि बढाउन र निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन आवश्यक तयारी अघि बढाउन निर्देशन दिएका हुन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपतिलाई आयोगको तयारीका विषयमा जानकारी गराउँदै प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न आयोगले मितव्ययी ढंगले स्रोत–साधन र जनशक्ति परिचालन गर्ने तयारी गरेको बताए ।
उनले निर्वाचनका लागि आवश्यक स्रोत साधन र जनशक्ति उपलब्ध गराउने तथा भरपर्दो सुरक्षा व्यवस्था मिलाइने सुनिश्चितता सरकारको तर्फबाट प्राप्त भएको जानकारी पनि दिए ।
आयुक्त भण्डारीले आयोगले स्वीकृत कार्ययोजना अनुसार निर्वाचन आचारसंहिता निर्धारण र कार्यान्वयन, उम्मेदवार दर्ता तथा छानबिन, अन्तिम नामावली प्रकाशन र मतदानलगायतका सम्पूर्ण कार्यक्रमहरू राजनीतिक दल र सरोकारवालाहरूसँगको परामर्शमा तयार पारिने जानकारी गराए ।
आयोगले संशोधित मतदाता नामावली ऐन, २०७३ अनुसार मतदाता नाम दर्ता कार्य सुचारु रहेको, आन्तरिक प्रशासनिक तयारीलाई योजनाबद्ध रूपमा अघि बढाइरहेको र निकट भविष्यमै राजनीतिक दलहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको जनाएको छ ।
आयोगले निर्वाचनको पूर्वतयारीका सबै कार्यक्रमहरू निर्धारित समयमा पूरा हुने विश्वास व्यक्त गरेको छ ।
उक्त कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा। जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, आयोगका सचिव महादेव पन्थ, राष्ट्रपतिका विज्ञ सल्लाहकार तथा राष्ट्रपति कार्यालयका सचिव डा। दीपक काफ्ले उपस्थित रहनुभएको जानकारी आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।







