चुनावमा पैसा बाँडेको थाहा पाए कारवाही गर्नुस् : गृहमन्त्री लामिछाने

जनता संवाददाता
२०८१ बैशाख ८ गते, शनिबार

इलाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै भोट किन्न कसैले पैसा बाँडेको थाहा पाएमा तत्काल कार्वाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

इलाम –२ को उपनिर्वाचन सिलसिलामा माङ्मालुङमा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सो निर्देशन दिएका हुन् । चुनावका बेला पैसा बाँड्ने देशद्रोही भएकाले यस्तो पाए कुनै आदेश नकुर्न सुरक्षा निकायलाई निर्देशन दिए ।

लामिछानेले भने, ‘सुरक्षा निकायका साथीहरू ध्यान दिएर हेर्नुहोला, कहींकसैले चुनावमा भोट किन्न जनतालाई पैसा बाँडेको देख्नुभयो भने कुनै आदेश कुर्नु पर्दैन, तुरुन्त कारवाही गर्नुहोला ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका मन्त्री लामिछानेले रास्वपाका आफ्ना उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते, शनिबार


Scroll to Top

Janata Media