सप्तरीमा भीषण आगलागीः छ घर जलेर नष्ट, ५० लाखभन्दा बढीको क्षति

जनता संवाददाता
२०८२ आश्विन २४ गते, शुक्रबार

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा गएराति बिजुली सर्ट भएर लागेको भीषण आगलागीमा छ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीमा एक व्यक्ति घाइते भएका छन् भने करिब ५० लाख ३० हजार रुपियाँ बराबरको धनमाल तथा चौपायाको क्षति भएको छ ।

बिहीबार राति करिब १० बजे ललित यादवको घरमा जडान गरिएको बिजुली मिटरको तार सर्ट भई आगलागी भएको थियो । आगो तीव्र गतिमा फैलिँदै ललित यादवका छोराहरू र छोरीको घरमा समेत पुगेपछि घरहरु जलेर नष्ट भएका छन् ।

आगलागी नियन्त्रण गर्न स्थानीयवासी, इलाका प्रहरी कार्यालय रुपनीका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र कञ्चनरुप नगरपालिकाको दमकलले सहयोग गरेका थिए । आगो नियन्त्रणमा ल्याउन करिब दुई घण्टा लागेको र शुक्रबार बिहान पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा २८ वर्षीय श्यामसुन्दर यादवको ढाड र हातमा करिब २५ प्रतिशत आगोले पोलिएर घाइते भएका छन् । उनी हाल मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचाररत छन् र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

आगलागीमा ६५ वर्षीय ललित यादवको बाँसको टाटी र टिनको छानो भएको दुईवटा घर जलेको छ । साथै एक तोला सुन, १० तोला चाँदी, ५० हजार नगद, अन्नपात, लत्ता कपडा र भाँडा बर्तन जलेका छन् । भैँसी एक र गाई एक घाइते भएका छन् भने दुईवटा खसी र एकवटा बाख्रा जलेर मरेका छन् । यसरी ललित यादवको करिब सात लाख ५५ हजार बराबरको क्षति भएको बरख गण भलुवाही राजविराजका प्रमुख सेनानी सोवितबहादुर चन्दले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ आश्विन २४ गते, शुक्रबार


Scroll to Top

Janata Media