सरकारले उद्योगी व्यवसायीलाई अपराधीजस्तो व्यवहार गर्न हुँदैन : रवि लामिछाने

जनता संवाददाता
२०८० भाद्र १४ गते, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले उद्योग व्यवसाय गरेर पैसा कमाउनेलाई सरकारले अपराधीजस्तो व्यवहार गर्न नहुने बताएका छन् । बुधबार काठमाडौँमा आयोजना भएको निजी क्षेत्रको आवाज विषयक बृहत् छलफल कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

उनले राज्यले मुलुकभित्रै निजी क्षेत्रलाई व्यावसायिक वातावरण भए मात्र देश समृद्ध हुने बताए । उनले सरकारले व्यवसायीलाई व्यावसायिक वातावरण बनाउनुपर्ने भएपनि निरुत्साहित बनाइ रहेको बताए ।

उनले व्यवसायीलाई अपमान भन्दा पनि लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताए । उनले वैदेशिक लगानी भित्र्याउन नीति नियममा परिवर्तन गर्नु आवश्यक रहेको बताए । उनले व्यापार व्यवसाय र व्यापारी व्यवसायीको संरक्षण कुनै पनि राजनीतिक दलको नेताले गर्ने नभएर नीतिले गर्ने बताए ।

सभापति लामिछानेले नीतिले संरक्षण गर्‍यो भने मात्रै निजी क्षेत्र समृद्ध हुनसक्ने बताए । उनले व्यापार व्यवसाय र उद्योगी व्यवसायीलाई अहिलेसम्म नेताले संरक्षण गरेकाले मुलुकमाथि उठ्न नसकेको बताए ।

उनले निजी क्षेत्रसँग सहकार्य गर्न स्वतन्त्र पार्टी तयार रहेको भन्दै उद्योगी व्यवसायीलाई पार्टीमा सदस्य बन्न र चन्दा आतङ्कको मारमा कहिल्यै पनि बाध्य नपार्ने बताए । उनले अब देशमा अर्थतन्त्र भन्दा बाहेकका कुरा गरेर मुलुकको अर्थतन्त्र माथि उकास्न नसकिने बताए ।

उनले पछिल्लो समय मारवाडी व्यवसायी समूहलाई लिएर अपमानजनक टिप्पणी भएको भन्दै त्यस्तो नगर्न आग्रह गरे । उनले जुनसुकै समुदायको मानिस भए पनि गलत गरेर राज्यको नीति नियम भन्दा बाहिर गएको भए कारबाही गर्न आग्रह गरे । उनले संविधानले नगर भनेको कुरालाई लिएर व्यवसायीहरूलाई अपमानित गर्ने, निरुत्साहित गर्ने काम गर्नु नहुने बताए ।

सभापति लामिछानेले व्यावसायिक वातावरण बनाउन आफू नेतृत्वको दल र सांसद प्रतिबद्ध रहेको पनि बताए।

प्रकाशित मिति : २०८० भाद्र १४ गते, बिहीबार


Scroll to Top

Janata Media