स्याङ्जामा जुवा खेलिरहेका पूर्व वडाध्यक्षसहित सात जना पक्राउ

जनता संवाददाता
२०८२ कार्तिक ४ गते, मंगलवार

स्याङ्जा । स्याङ्जामा पूर्व वडाध्यक्ष र अहिलेका वडा सदस्यसहित जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गाबाट प्रहरीले एक लाख ९७ हजार सात सय रुपियाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी उपरीक्षक कमलराज पण्डित नेतृत्वको टोलीले जुवा खेलीरहेका सातै जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा गल्याङ नगरपालिका–१ का पूर्ववडा अध्यक्ष ५० वर्षीय गणेश बस्याल, वर्तमान वडा सदस्य ५९ वर्षीय ओम श्रेष्ठ, ७२ वर्षीय कुस्माखर न्यौपाने, ४२ वर्षीय चुडामणि बस्याल, ४२ वर्षीय लोकनाथ बस्याल, ४४ सुन्दर बस्याल र ५१ वर्षीय लक्ष्मी प्रसाद बस्याल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । उनीहरु सबै एउटै गाउँका हुन् ।

पक्राउ परेकामध्ये पूर्व वडाध्यक्ष गणेश बस्याल नेकपा (एमाले) र अहिलेका वडा सदस्य ओम श्रेष्ठ नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधि हुन् ।

गणेश बस्यालकै घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका सातैजनालाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको र थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक ४ गते, मंगलवार


Scroll to Top

Janata Media