कांग्रेसमा जुटेन सहमति, फेरि सर्‍यो केन्द्रीय समिति बैठक

जनता संवाददाता
२०८२ मंसिर ४ गते, बिहीबार

काठमाडौँ । महाधिवेशनबारे सहमति नजुट्दा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर ६ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो। यसअघि केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको थियो।

कात्तिक २७ गतेबाट केन्द्रीय समिति बैठक पटक पटक सर्दै आएको छ। नेताहरूले धारणा राख्ने क्रम सकिएकोले निर्णय लिनुपर्ने भए पनि सहमति नजुट्दा बैठक पटक पटक स्थगित हुँदै आएको हो।

केन्द्रीय समिति बैठकअघि विभिन्न समूहका बैठक बसेर आ-आफ्ना अडान प्रस्तुत गरेका थिए भने विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका थिए।

फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद छ भने विशेष महाधिवेशन कि नियमित भन्ने पनि विवाद छ।

यस्ता विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पहल गरे पनि अहिलेसम्म निकास निस्केको छैन।

प्रकाशित मिति : २०८२ मंसिर ४ गते, बिहीबार


Scroll to Top

Janata Media