रास्वपा कार्यकर्तालाई गगनको अपिलः भगवान र बा बनाएर गल्ती नगर्नुहोला

जनता संवाददाता
२०८३ असार ८ गते, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापाले दिएको सम्बोधन अहिले चर्चाको विषय बनेको छ। चितवनमा आयोजित कार्यक्रममा थापाले रास्वपाका नेता तथा कार्यकर्तालाई आफ्ना नेताहरूलाई भगवानको दर्जा नदिन र गलत निर्णय हुँदा प्रश्न गर्न सक्ने संस्कृतिको विकास गर्न आग्रह गरेका छन्।

रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरूको राजनीतिक अनुभवबाट सिक्न रास्वपाका कार्यकर्तालाई सुझाव दिएका हुन्।

थापाले कुनै पनि राजनीतिक दलमा नेतृत्वको आलोचना गर्न सक्ने वातावरण हुनुपर्ने बताउँदै नेता पूजाको संस्कृतिले अन्ततः पार्टीलाई नै क्षति पुर्‍याउने चेतावनी दिए।

उनले भने, ‘तपाईंहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्न हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईंहरूले त्यो गल्ती दोहोर्‍याउनु हुँदैन।’

गगन थापाको यो अभिव्यक्ति रास्वपाका सभापति रवि लामिछाने प्रधानमन्त्री बालेनप्रति अत्यधिक विश्वास र समर्थन गर्ने कार्यकर्तालाई लक्षित रहेको रूपमा हेरिएको छ।

थापाले आफ्नै पार्टीको अनुभव सुनाउँदै नेतृत्वका कमजोरीबारे समयमै बोल्न नसक्दा नेपाली कांग्रेसले ठूलो राजनीतिक मूल्य चुकाउनुपरेको स्वीकार गरे।

‘हाम्रो पार्टी दास र लासको पार्टी होइन भनेर पहिले नै भन्न सक्नुपर्थ्यो, तर हामीले सकेनौं। हामी ढिला भयौं र त्यसको सजाय पनि भोग्यौं,’ भन्दै थापाले नेतृत्वलाई प्रश्न गर्न सक्ने साहस लोकतान्त्रिक संस्कृतिको आधार भएको बताए।

उनले रास्वपाका हरेक सदस्यलाई आफ्नै नेताले गल्ती गर्दा पनि खुलेर प्रश्न गर्न आग्रह गरे। कुनै पनि नेता आलोचनाभन्दा माथि हुन नसक्ने र लोकतन्त्रमा उत्तरदायित्व सबैभन्दा महत्वपूर्ण विषय भएको उनको भनाइ थियो।

यति मात्र होइन, थापाले पछिल्लो निर्वाचनमा रास्वपाले प्राप्त गरेको असाधारण जनमतलाई सही ढंगले प्रयोग गर्नुपर्ने सुझाव पनि दिए। जनताले दिएको विश्वासलाई शक्ति प्रदर्शनको माध्यम नभई जिम्मेवारीको रूपमा लिनुपर्ने उनको धारणा थियो।

उनले दलभित्र नेतृत्वबीच अहंकारको टकराव हुन नहुने र जनमतबाट प्राप्त शक्तिको सीमा बुझ्नुपर्नेमा जोड दिए। जनताको विश्वास जित्न जति कठिन छ, त्यसलाई कायम राख्न झनै चुनौतीपूर्ण हुने भन्दै थापाले रास्वपाले संयम र जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने बताए।

कार्यक्रममा उपस्थित रास्वपाका नेता तथा कार्यकर्ताले थापाको सम्बोधनलाई ध्यानपूर्वक सुनेका थिए। उनको अभिव्यक्तिले राजनीतिक वृत्तमा मात्र होइन सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाएको छ।

रास्वपाको महाधिवेशन मञ्चबाट गगन थापाले दिएको सन्देश केवल रास्वपाका लागि मात्र नभई सम्पूर्ण राजनीतिक दलहरूका लागि पनि आत्मसमीक्षाको विषय बनेको छ। लोकतन्त्रमा नेता भन्दा संस्था बलियो हुनुपर्छ भन्ने उनको सन्देशलाई धेरैले अर्थपूर्ण टिप्पणीका रूपमा लिएका छन्।

प्रकाशित मिति : २०८३ असार ८ गते, सोमबार


Scroll to Top

Janata Media