बागमती प्रदेश : संसद अधिवेशन बोलाउन एमालेको माग

जनता संवाददाता
२०८० माघ २६ गते, शुक्रबार

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशसभा अधिवेशन छिटो बोलाउन माग गरेका छन् ।

एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले सरकारसँग बैठक बोलाउन माग गरेका हुन् ।

उनले बैठक नबोलाएकोमा सरकारप्रति शङ्का लागेको बताए । प्रदेश सरकारले सीमित व्यक्ति र क्षेत्रमा बजेट किताबमा समावेश नभएका योजनामा बजेट विनियोजन गर्ने काम गरिरहेको नेता थपलियाको आरोप थियो ।

सरकारले माघ महिनाको अन्त्यसम्ममा समेत संसद् अधिवेशन आह्वान नगरे २५ प्रतिशत सांसदको हस्ताक्षर सङ्कलन गरी बैठक आह्वान गर्न दबाब दिने नेता थपलियाले पत्रकार सम्मेलनमा बताए ।

विपक्षी दलले दिएको सुझाव र सम्झौता सरकारले कार्यान्वयन नगरे अन्य कदम चाल्ने नेता थपलियाको भनाइ रहेको छ ।

 

प्रकाशित मिति : २०८० माघ २६ गते, शुक्रबार


Scroll to Top

Janata Media