एक महिना पछि सिमकोटमा बत्ति बल्ने

जनता संवाददाता
२०७९ कार्तिक १८ गते, शुक्रबार

सिमकोट । वर्षासँगैको पहिरोले आयोजनाको नहर भत्केपछि एक महिनादेखि अन्धकार बनेको हुम्ला सदरमुकाम सिमकोटमा आज बत्ति बल्ने भएको छ ।

पहिरोले ठूलो क्षती भएको हिल्दुम साना जलविद्युत आयोजना मर्मत गर्न समय लाग्ने भएकाले जेनेरेटरबाट आजदेखि विद्युत लाइन सुचारु हुने भएको हो । तत्काल आयोजनाको विद्युत सूचारु नहुने भएपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार हेलिकोप्टरबाट ढुवानी गरेर ल्याइएको २२५ केभिय जेनेरेटरबाट आजदेखि विद्युत लाइन छोड्न थालिएको हो ।

विद्युत प्राधिकरण केन्द्रीय कार्यालयको सहयोगमा नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गरेर ल्याइएको जेनेरेटरको जडान कार्य सकिएपछि अहिले ६ बजेदेखि विद्युत आपुर्ति गरिने हिल्दुम साना जलविद्युत आयोजना सिमकोट वितरण केन्द्रका प्रमुख साजन ऐडीले जानकारी दिए ।

‘डिजिटल जेनेरेटर जडाननका सबै काम सकिएको छ’ ऐडिले भने ‘अहिले साँझ ६ बजेदेखि दुई घण्टामा लागि लाइन छोड्ने अन्तिम तयारी भएको हो । आजदेखि सुचारु हुने विद्युत हरेक दिन चार घण्टाका दरले छोडिने बताएका ऐडीका अनुसार हरेक दिन वेलुका ६ देखि ८ बजे र दिउँसो १२ बजेदेखि २ बजेसम्म डिजिटल जेनेरेटरबाट विद्युत आपुर्ति गरिने तयारी वितरण केन्द्रले गरेको छ ।

बढि विद्युत खपत हुने उपकरण नचलाउन अपिल!

डिजेलबाट चल्ने डिजिटल जेनेरेटरबाट विद्युत आपुर्ति गर्न थालिएपछि लाइनमा बढि विद्युत खपत हुने हिटर, वल्डीङ मेसिन, मोटर आदी सामाग्री प्रयोग नगर्न हुन हामीले ग्राहकमा सार्वजनिक अपिल गरेका छौं ।

‘जिल्लामा नपाईने डिजेल मार्फत चल्ने जेनेरेटरले अत्यावश्यक लाइट र कम विद्युत खपत हुने काम बाहेक अन्य काम गरे उक्त उपकरण जफत गर्ने र कानूनी कारबाही समेत गर्छौ’ कार्यालय प्रमुख ऐडीले थपे ।

लामो समय ग्राहक महानुभावलाई अन्धकारमा बस्नु परेको अवस्थालाई हेरेर हामीले वैकल्पीक व्यवस्थाका रुपमा जेनेरेटरको व्यवस्था गरेको बताएको सिमकोट वितरण केन्द्रले ५०० किलोवाडको हिल्दुम साना जलविद्युत आयोजनाको मर्मतको काम पुरा नहुञ्जेलसम्म यसरी नैं लाइन छोड्ने छ ।

 

प्रकाशित मिति : २०७९ कार्तिक १८ गते, शुक्रबार


Scroll to Top

Janata Media