काठमाडौँ,। विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्तपञ्चमी तथा सरस्वती पूजा बुधबार विविध कार्यक्रमसाथ मनाउन लागिएको छ ।
यही दिनको साइत पारेर अभिभावकले नानीबाबुलाई अक्षर चिनाउने कार्य शुभारम्भ गर्दै छन् । यस दिनमा नवीन कार्य प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ ।
वसन्तपञ्चमीकै दिनदेखि शिक्षण संस्थाले पनि विविध छुट कार्यक्रमसाथ विद्यार्थी भर्ना आह्वान गरेका छन् । यस दिन भर्ना हुन आएका विद्यार्थीलाई भर्ना शुल्क नलाग्ने तथा मासिक शुल्कमा समेत आकर्षक छुट दिने प्रस्तावसाथ शिक्षण संस्थाले प्रचार प्रसार गरिरहेका छन् ।
यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती शिक्षा, ज्ञान र सङ्गीतकी देवीको प्रतीक रहेको बताए । वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना सन्देश दिँदै पौडेलले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा वसन्तपञ्चमीले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
“आजको यस शुभदिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षराम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको छ,” उनले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्तपञ्चमीलाई मानिँदै आइएको छ ।”
वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई यस पर्वले दर्शाउने गरेको छ ।







