काठमाडौँ । दुई वर्षअगाडि घरको छतबाट लडेर दाँया खुट्टा भाँचिएर अपांगता भएकी सिमकोट गाउँपालिका– ७ की माया बिकको खुट्टाको सल्यक्रिया सफल भएको छ।सहयोग हातहरूको सहयोगबाट मायालाई हुम्लाबाट उद्धार गरेर बनेपा अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रमा बुधबार खुट्टाको शल्यक्रिया सफल भएको हो।
दश वर्षीया बालिका बिकको उपचारमा सहयोग गर्दै आएका डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोष बोहराले बालिकाको अपांग भएको खुट्टाको शल्यक्रिया वरिष्ठ चिकित्सक अशोक बास्कोटालगातको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको बताए। अपांग भएको खुट्टाको सफल शल्यक्रिया भएपछि बालिकालाई केही दिन अझै चिकित्सककै निगरानीमा राखिनेछ।
बालिकाको उपचार पूर्वसचिव भीम उपाध्यायले आर्थिक सहयोग जुटाएर गरिरहेका छन्। हुम्लाबाट काठामाडौंसम्मको यात्रा भने हुम्लामै सहयोग उठाएर पठाइएको थियो।
घरको आर्थिक अवस्था कमजोर भएकाले बिकको उपचार हुन सकेको थिएन। स्थानीय प्रविधिबाट उपचार गर्दा बालिकाको खुट्टा बिग्रिएर अपाङ्गता भएको थियो।
दुई वर्ष अगाडि घरको छतमा साथीहरुसँग खेल्दै गर्दा लडेर खुट्टा भाँच्चिएरको थियो। अब पूर्ण रुपमा बिक निको भएपछि निजको पठनपाठनको व्यवस्थासमेत पूर्वसचिव उपाध्ययले नेपालगञ्जमा हुने बताएका छन्।







