कर्णालीका मुख्यमन्त्री शर्माको आज विश्वासको मत लिने तयारी

जनता संवाददाता
२०८० चैत्र २१ गते, बुधबार

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार अपराह्न ३ बजे प्रदेश सभाको बैठक बोलाइएको कर्णाली प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरूङले जानकारी दिए।

यसअघि मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने तय थियो। तर गठबन्धनको प्रमुख घटक एमालेले असन्तुष्टि देखाउँदै विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीको आग्रहमा प्रदेश सभाको बैठक आजका लागि सारिएको थियो।

सत्ता गठबन्धनको भागबन्डामा कर्णाली प्रदेश एमालेले पाउने सहमति भएको थियो। तर गठबन्धनले भागबन्डाको निर्णय गर्नुअघि नै कर्णालीमा मुख्यमन्त्री शर्माले प्रदेश सभालाई विश्वासको मत लिने सूचना दर्ता गराएका थिए।

भागबन्डामा कर्णाली एमालेले लिने भएपछि मुख्यमन्त्रीलाई विश्वासको मत नलिई राजीनामा गर्न एमालेले आग्रह गरेको थियो। एमालेले माओवादीसँग यसमा लिखित प्रतिबद्धता मागेको थियो। उक्त मागमा माओवादी सकारात्मक रहेको माओवादीको कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक रनसिंह परियारले जानकारी दिएका छन्।

उनले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भइसकेका कारण राजनीतिक हिसाबले राजीनामा नगरिएको पनि बताए। तर, गठबन्धन र त्यसले गरेको निर्णयप्रति प्रदेश संसदीय दल पनि प्रतिबद्ध रहेको उनले बताए।

४० सदस्यीय कर्णालीमा बहुमतका लागि २१ सांसद चाहिन्छ। यहाँ एमालेका १० र माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ जना सांसद छन्। कांग्रेसका १४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन्।

प्रकाशित मिति : २०८० चैत्र २१ गते, बुधबार


Scroll to Top

Janata Media