अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

जनता संवाददाता
२०८१ बैशाख ७ गते, शुक्रबार

काबुल (अफगानिस्तान) । अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको भने ५० जनाभन्दा बढी घाइते भएको पुष्टि भएसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् अधिकारी मुल्लाह जानान स्याकले बताएका छन् ।

“विगत छ दिनमा बाढीबाट प्रभावित भई मृत्युवरण गर्नेको सङ्ख्या ७० पुग्नुका साथै अन्य ५६ जना घाइते भएको स्याकले मिडियालाई बताए । यसअघि ती अधिकारीले ३३ जनाको मृत्यु भएको तथा २७ जना घाइते भएको पुष्टि गरेका थिए ।

गत हप्तामा वर्षा र बाढीका कारण दुई हजार पाँच सयभन्दा बढी घर क्षतिग्रस्त हुँदा दुई हजारभन्दा बढी गाईवस्तु मरेका छन् ।

अफगानिस्तानका ३४ वटा प्रान्तका प्रमुख भागमा शुक्रबारदेखि वर्षा र छिटपुट हिमपात भइरहेको छ, भने देशको मौसम निर्देशालयले आगामी चार दिनमा थप वर्षाको पूर्वानुमान गरेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : २०८१ बैशाख ७ गते, शुक्रबार


Scroll to Top

Janata Media