अमेरिकामा भन्साररहित सुविधा निरन्तर गरिनुपर्ने

जनता संवाददाता
२०८१ भाद्र २५ गते, मंगलवार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा नेपालको निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरता महत्वपूर्ण रहेको बताएका छन् । महासङ्घ, तयारी पोसाक सङ्घ, नेपाल अमेरिका चेम्बर अफ कमर्स, युएसएड र निर्यात महासङ्घले संयुक्त रूपमा आयोजना गरेको नेपाल अमेरिका व्यापार र लगानी अवसर र चुनौती विषयक कार्यक्रम उहाँले उक्त धारणा राखेका हुन् ।

अमेरिकाले सन् २०१६ मा भूकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्साररहित सुविधा आगामी वर्ष सकिन लागेको छ । यसै सन्दर्भमा आगामी साता आयोजना हुने व्यापार एवं लगानीसम्बन्धी सम्झौता (टिफा) परिषद्को बैठक महत्वपूर्ण रहेको उनको धारणा थियो । उक्त बैठकमा सुविधाको निरन्तरता र हाल निलम्बनमा रहेको जिएसपी सुविधाको निरन्तरतालाई प्राथमिकता दिइनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । यसैगरी नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने समयमा भन्साररहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड थियो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझाव अनुरूप अमेरिकासँग छलफल गरिने बताए ।

यस अवसरमा, महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक भएको बताए । नेपाल तयारी पोसाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए। त्यस्तै नेपाल–अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथसाथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताए ।

नेपाल र अमेरिकाबिच सन् २०११ मा टिफा सम्झौता भएको थियो । यो सम्झौताको खाका भएको हुँदा द्विपक्षीय लगानी र व्यापारका लागि सम्झौता गर्न यसले आधार तयार पार्ने अपेक्षा गरिएको थियो । हालसम्म कुनै उपलब्धि हुन सकेको छैन । हाल सुविधा गुम्ने अवस्था आएको हुँदा अमेरिकाको निर्यात घटन सक्नेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अमेरिका नेपालको दोस्रो ठुलो निर्यात गन्तव्य हो ।

प्रकाशित मिति : २०८१ भाद्र २५ गते, मंगलवार


Scroll to Top

Janata Media