नेपालमा पोलियोको चुनौती कायमै

जनता संवाददाता
२०८१ कार्तिक ९ गते, शुक्रबार

काठमाडौँ । नेपालमा पोलियो उन्मूलन भएको १० वर्ष बितिसक्दा पनि चुनौती भने अझै कायम छ । नेपालमा कतिपय समुदायले पोलियोविरुद्धको खोप लगाउन अटेर गर्ने, धार्मिक कारणले खोप नलगाउने, खोपप्रतिको नकारात्मक धारणाले गर्दा पोलियोको चुनौती देखा परेको हो ।

नेपालले पोलियो उन्मूलनको रणनीति अन्तर्गत नियमित रूपमा खोप सेवा, पूरक थप खोप अभियान, अतिशीघ्र लुलोपनको निगरानी, वातावरणीय निगरानी जस्ता कार्य गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई पोलियो उन्मूलन घोषणा गरेको १० वर्षपछि गत साउनमा पोलियो भाइरस भेटिएको थियो ।

प्रयोगशाला परीक्षण गर्दा काठमाडौँको टुकुचाखोलाबाट सङ्कलन गरिएको नमुनामा पोलियो भाइरस पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले नेपाल अझै पनि पोलियोको जोखिमबाट मुक्त भइनसकेको जानकारी दिए । उनले केही देशमा पोलियो अझै पनि कायम रहेकाले नेपाल पनि जोखिममा रहेको बताए । उनले सबै शिशुलाई खोप लगाउनु पर्छ भन्दै पोलियोको खोप शतप्रतिशत पुर्याउनुपर्ने बताए  ।

नेपाल पोलियोमुक्त भए पनि संसारबाट पोलियो उन्मूलन नभएसम्म पुनः सङ्क्रमण फैलिन सक्ने जोखिम रहेकाले पोलियोको चुनौतीलाई सामना गर्न सबै क्षेत्रको समन्वय आवश्यक रहेको उनको धारणा थियो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार नेपालमा सन् २००० मा चार जनामा र २०१० मा ३२ जनामा पोलियो देखिएको थियो । निरन्तर चार वर्षसम्म पोलियो नभेटिएपछि २०१४ मा नेपाललाई पोलियो उन्मूलन भएको घोषणा गरिएको थियो ।

डा. गौतमले नेपालमा पोलियोको जोखिम कायम रहेको भन्दै खोपसँगै जनचेतना जगाउनुपर्नेमा जोड दिए  । पोलियो भाइरस भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते, शुक्रबार


Scroll to Top

Janata Media