काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिकाले ग्रामीण सडक मर्मत सम्भारको काम सुरु गरेको छ । अविरल वर्षातका कारण बिग्रिएका ती सडकलाई दसैँ अगावै सञ्चालन हुने गरी पालिकाले ग्रामीण सडक मर्मत सम्भारको काम सुरु गरेको हो ।
त्रिवेणीका बाँगापाटा, कालापानी, झालगाउँ, तोली, छतारा लगायतको ठाउँमा वर्खाको समय भत्किएर अवरुद्ध बन्दै गएका सडक दसैँ अगाबै पुन सञ्चालनमा ल्याउने गरी यती बेला मर्मत सम्भारको काम सुरु गरिएको त्रिवेणी नगरपालिका वडा नं – २ का अध्यक्ष बीरबहादुर बिकले बताए ।
उनले भने, “केही समयअघि सडक अवरुद्ध हुँदा स्थानीयलाई आउजाउमा समस्या भएकोले यहाँका ती सबै सडक मर्मत सम्भारको काम भएको छ । ”
पहिरो गएको ठाउँमा सफाई गर्ने र भत्किएको ठाउँमा पनि ग्याबिन राख्ने तयारी भइरहेको छ । असोजको दोस्रो हप्ता सम्म यहाँका गाउँ बस्तीमा पुगेका सबै सडक पुन सञ्चालन ल्याउने गरी मर्मत सम्भारको काम तीब्र रुपमा भइरहेको बिकले बताए ।
त्रिवेणी नगरपालिकाको किम्नी बाहेक सबै गाउँ बस्ती सडक सञ्जालको पहुँचमा छन् । यहाँका केही सडक गत असार साउनमा आएको अविरल वर्षातका कारण बिग्रिएका थिए । यसरी सडक अवरुद्ध बनेपछि यहाँका स्थानीयलाई पनि दैनिक खाद्यान सामग्री घर सम्म जैजान मसेत समस्या हुने गरेको थियो ।
पानी पर्दै गरेको कारण ती सडक मर्मतको काम गर्न सकेको थिएन । यतीबेला पानी रोकिएकोले अहिले ती अवरुद्ध बनेका त्रिवेणीका सबै ग्रामीण सडक मर्मत सम्भारको काम सुरु गरिएको त्रिवेणी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि शाहले बताए ।
उनले भने, “यहाँका सबै भन्दा ठुलो समस्या बुढीगङ्गा नदी हो । यो नदीका कारण यहाँ वर्खाको समय गाडी वारपार हुँदैन । यतीबेला यस नदीमा पनि पुल निर्माणको काम भइरहेको छ । ”
बुढीगङ्गा र मालागाड खोलामा पुल निर्माणको काम चाँडै सम्पन्न हुने भने त्रिवेणीका सबै वडामा हिउँद वर्खामा नियमित गाडी सुचारु गर्न सकिने त्रिवेणी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शााहले बताए ।







