सभामुखको रुलिङपछि सांसदबिच आरोप प्रत्यारोप

जनता संवाददाता
२०८१ भाद्र २७ गते, बिहीबार

काठमाडौँ । दुई साताअघि संसद्मा प्रयोग भएको हिंसा शब्दबारे सभामुख देवराज घिमिरेले गरेको रुलिङका विषयमा सत्तापक्ष र प्रतिपक्ष पुनः एक पटक व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएका छन् । भदौ १२ गते नेकपा (एमाले) का योगेशकुमार भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नभएको रुलिङ सभामुख घिमिरेले दुई सातापछि गरेका थिए । उक्त रुलिङमा चित्त नबुझाउँदै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको हो । विवाद लम्बिँदा माओवादी केन्द्र र एमालेका सांसद व्यक्तिगत आरोपमै उत्रिए ।

बुधबारको बैठकमा शून्य समय सकिएपछि सभामुख घिमिरेले उक्त शब्दको विषयमा रुलिङ गरेका थिए । सामान्यतया नियमापत्तिको विषयमा सभाध्यक्षले तत्कालै रुलिङ गर्ने अभ्यास भए पनि शब्दावलीबारे सभामुखले दुई सातापछि आफ्नो निर्णय सुनाएका थिए ।

रुलिङ गर्दै सभामुख घिमिरेले भनेका थिए, “२०८१ भदौ १२ गतेको प्रतिनिधि सभाको बैठकमा माननीय योगेशकुमार भट्टराईले विशेष समयमा बोल्ने क्रममा हिंसा भन्ने शब्द प्रयोग गरेकोमा सो शब्द असंसदीय रहेकाले संसद्को अभिलेखबाट हटाइयोस् भनी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक माननीय हितराज पाण्डेसहितका माननीय सदस्यले विषय उठान गरेकोमा प्रतिनिधि सभा नियमावलीको नियम २१ मा भएको व्यवस्था, मिति २०८१ भदौ १८ गतेको कार्यव्यवस्था परामर्शको बैठकमा भएको छलफल र सचिवालयको रायसमेतका आधारमा विषय प्रसङ्ग र प्रस्तुतिलाई विचार गर्दा उक्त हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको हुँदा संसद्को अभिलेखबाट हटाउनुनपर्ने बेहोरा जानकारी गराउँदछु ।” लगत्तै माओवादी केन्द्रका प्रमुख सचेत हितराज पाण्डेले संविधानको प्रस्तावना पढेर सुनाउँदै उक्त शब्द संविधान र कानुनविपरीत भएको जिकिर गरे । पाण्डेले संविधानभन्दा प्रयोग हुने शब्द फरक हुन नहुने बताएका थिए । उनले उठाइएको विषय र शब्द नियतसाथ प्रयोग गरिएको बताएका थिए । उनले १२ गते नियमापत्ति गरेको विषयमा विलम्ब गरेर व्याख्या गरिएकोमा आपत्ति पनि जनाएका थिए ।

पाण्डेपछि एमालेका रघु्जी पन्तले २०४८ सालको संसद् स्मरण गराउँदै आफूहरूमाथि टाउको काटेको आरोप लगाउँदा पनि आपत्ति नजनाएको बताएका थिए । विगतमा भएका सबै आन्दोलनलाई समेट्न सकारात्मक रूपमा सशस्त्र सङ्घर्षका रूपमा अथ्र्याइएको र संसद्मा हिंसा शब्द बारम्बार प्रयोग भएको पनि बताए । व्यक्तिगत आक्षेपमा उक्त शब्द प्रयोग उपयुक्त नभए पनि राजनीतिक रूपमा प्रयोग गर्न सकिने बताए थिए । सभामुखको रुलिङमा पटक पटक प्रश्न उठाइएकोमा पनि उनले प्रश्न गरेका थिए ।

सोपछि माओवादी केन्द्रका माधव सापकोटाले समय माग गरेका थिए । सभामुख घिमिरेले उक्त शब्दको बहस आवश्यक नभएको भन्दै माइक दिन अस्वीकार गरेका थिए । सापकोटाले सभामुखको फैसला (रुलिङ) मा प्रश्न उठाएका थिए । सोपछि एमाले र माओवादी केन्द्रका दुवै सांसद उभिएर होहल्ला गरेका थिए ।

विवाद लम्बिएपछि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षीलाई पाँच मिनेटको समय दिएका थिए । माओवादी केन्द्रका तर्फबाट सांसद देवेन्द्र पौडलले कुनै पनि दस्ताबेजमा माओवादी आन्दोलनलाई हिंसा नभनिएको बताए । पौडेलले सभामुखको रुलिङलाई चुनौती दिँदै उक्त शब्दमा बहसका लागि तयार रहेको बताएका थिए । शब्द रेकर्डबाट हटाउन उनले माग पनि गरे ।

सोपछि पनि माओवादी केन्द्रका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेलाई पुनः समय दिएका थिए । पाण्डेले सभामुखको रुलिङ संविधानविपरीत भएकाले मान्य नहुने दोहोर्‍याएका थिए ।

पाण्डेपछि सभामुख घिमिरेले एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई समय दिएका थिए । बर्तौलाले सामान्य विषयलाई असामान्य बनाइएको बताए । नियमापत्तिको अन्तिम निर्णय सभामुखको भएकाले सोउपरको विरोध असंसदीय भएको जिकिर गरे । उनले माओवादी आन्दोलनलाई संविधानले सशस्त्र द्वन्द्व माने पनि घटनाभित्र केही अमानवीय र हिंसात्मक कार्य भएको मान्न माओवादी तयार हुनुपर्ने बताएका थिए । उनले हालै पारित भएको टिआरसी विधेयकले पनि ती विषयमा पुनरावृत्ति गरेको पनि स्मरण गराए ।

बर्तौलाको अभिव्यक्तिपछि पुनः माओवादी केन्द्रका सांसदले उठेर विरोध जनाएका थिए । माओवादी केन्द्रका सांसद माधव सापकोटाले बर्तौलाले तथ्य तोडमोड गरेको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि एमाले सांसदले पनि उठेर विरोध जनाएका थिए । दुवै पक्षका सांसद व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएका थिए । विवाद बढेपछि सभामुख घिमिरेले सभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र २७ गते, बिहीबार


Scroll to Top

Janata Media