डेढ करोड लगानीमा कृषि बजार सञ्चालन

जनता संवाददाता
२०८१ आश्विन २३ गते, बुधबार

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा ९ मा भैरहवा कृषि बजार सञ्चालनमा ल्याइएको छ । वडा ९ को कठौतियामा भैरहवा एग्रिकल्चरल सुपरमार्केट एण्ड मल्टि टे«डिङ कन्सर्न प्रालिमार्फत भैरहवा कृषि बजार सञ्चालनमा आएको हो ।

२०८१ साउन १२ गते सुरु भएको बजारको औपचारिक उदघाटन गरिएको सञ्चालक रतन गुप्ताले बताए । बजारको उदघाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले कठौतियामा कृषि बजार सञ्चालनमा ल्याउनु राम्रो काम भएको बताए ।

उनले विषादीमुक्त तथा अर्गानिक तरकारीको बिक्री वितरणमा जोड दिन आग्रह गरे । नगरप्रमुख खाँले नाफाका लागि कसैको पनि स्वास्थ्यसँग खेलवाड गर्न नहुने बताए । उनले नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । त्यस्तै, सिद्धार्थनगर नगरपालिका –९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले भैरहवा कृषि बजारलाई नमूना बजारको रुपमा अघि बढाउन आग्रह गरे ।

भैरहवा कृषि बजार सञ्चालक समितिका अध्यक्ष चन्द्रो कहारले विषादीमुक्त तरकारी विक्री गर्ने प्रयासमै रहेको बताए । हप्ताको दुई दिन बुधबार र शनिबार हाटबजार सञ्चालनको तयारी पनि गरिएको कहारले जानकारी दिए ।

स्थानीय चन्द्रो कहार, दीपक श्रेष्ठ, रतन गुप्ता, मोहम्मद अनिस पठान, अब्दुल रसिल पठान र रंगीलाल चाइको संयुक्त लगानीमा भैरहवा कृषि बजार सञ्चालनमा आएको सिद्धार्थनगर –९ का वडा सदस्य बसन्त भट्टराईले जानकारी दिए । ५ कठ्ठा जग्गामा डेढ करोडको लगानीमा सञ्चालित बजारमा हाल २६ वटा स्टल छ ।

प्रकाशित मिति : २०८१ आश्विन २३ गते, बुधबार


Scroll to Top

Janata Media