विद्युत् पूर्वाधारमा सहायता बढाउन आग्रह

जनता संवाददाता
२०८१ आश्विन १६ गते, बुधबार

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा विद्युत् प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा लगानी तथा सहयता विस्तारका लागि नर्वे सरकारलाई आग्रह गरेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार नेपालका लागि नर्वेका राजदूत तोरन द्रामदलसँग भएको भेटमा यस्तो आग्रह गरेका हुन् । ऊर्जामन्त्री खड्काले नेपालको विद्युत् उत्पादन, प्रसारण र वितरणका क्षेत्रमा नर्वेले तालिम कार्यक्रम, सिभिल, इलेक्ट्रिकल र हाइड्रोमेकानिकल क्षेत्रमा स्थानीय विशेषज्ञता विकास गर्न नर्वेको सहयोग महत्वपूर्ण रहेको धारणा राखे ।

तिनाउ, आँधीखोला, झिमरुक, खिम्ती, माथिल्लो तामाकोशीलगायत ठुला जलविद्युत् आयोजना र लघु जलविद्युत् आयोजना निर्माणमा नर्वे सरकारको सहयोगका लागि आभार व्यक्त गरे । नेपाल र नर्वेबिचको सहकार्यका विविध विषयमा भएको छलफलमा ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रमा ६० वर्षभन्दा बढी समयदेखि नर्वे सरकारको सहयोग र साझेदारीका लागि धन्यवाद व्यक्त गरे । मन्त्री खड्काले विद्युत् उत्पादन, प्रसारण लाइन, सबस्टेसन र ग्रामीण विद्युतीकरणमा तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै सो कार्यमा नर्वेको साथ र सहयोग अपेक्षा गरे । उनले जलविद्युत्लगायत नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्न राजदूतमार्फत नर्वेजियन निजी क्षेत्रलाई पनि आग्रह गरे ।

ऊर्जामन्त्री खड्काले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नर्वे सरकारलगायत अन्तर्राष्ट्रिय सहयोगको अपेक्षासमेत गरे ।

भेटमा नेपालका लागि नर्वेका राजदूत द्रामदलले नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि नर्वे सरकारको सधैँ साथ र सहयोग रहँदै आएको बताए । उनले नेपाली विद्याथीलाई नर्वेमा जलविद्युत्सम्बन्धी अध्ययन गर्नका लागि सहयोग गर्दै आएको उल्लेख गरे । उनले आगामी दिनमा प्रसारण लाइनको विकासमा समेत नर्वे सरकारले सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २०८१ आश्विन १६ गते, बुधबार


Scroll to Top

Janata Media