निर्वाचन क्षेत्रका बिरामीलाई निःशुल्क उपचार

जनता संवाददाता
२०८१ मंसिर ४ गते, मंगलवार

काठमाडौं । मोरङ–३ का प्रतिनिधिसभा सदस्य डा. सुनीलकुमार शर्माले दुबै मिर्गौलामा समस्या भएर जीवन मरणको अवस्थामा पुग्नु भएका बेलबारी ३ का १९ वर्षीय सुशान राईको निःशुल्क उपचार गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेर घरमै थलिनु भएका सुशानलाई बेलबारी वडा नं. ३ का कांग्रेस सभापति रिक्तबहादुर गुरुङले काठमाडौँ मेडिकल कलेज (केएमसी) मा भर्ना गरेका थिए ।

त्यहाँ सांसद शर्मासँगको भेटघाटपछि केएमसीले सुशानको उपचार निःशुल्क गरिदिने प्रबन्ध गरेका थिए । बिरामी सुशान सांसद शर्माकै निर्वाचन क्षेत्रका व्यक्ति हुन् ।

शर्माले चुनाव ताका नै आफ्नो निर्वाचन क्षेत्रका बिरामी पैसा अभाव भएकै कारण मर्न नदिने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार सांसद शर्माले विराटनगरस्थित नोबेल अस्पतालमा मोरङ क्षेत्र नं. ३ का मतदाताका लागि उपचारमा ५० प्रतिशत छुट तथा विपन्न परिवारका लागि निःशुल्क उपचारसहित ५० बेडको क्याबिन निःशुल्क गरि दिएका छन् ।

त्यस्तै, मोरङ–३ का बिरामीहरूका लागि खाना र आवाससहित निःशुल्क ३० बेडको व्यवस्था गरि दिएका छन् । यसैगरी, काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा समेत आफ्नो क्षेत्रका बासिन्दाका लागि निःशुल्क उपचारको व्यवस्थासहित १५ शय्याको कक्ष उपलब्ध गराइएको छ ।

सांसद शर्माले भने, ‘‘चुनाव कांग्रेसबाट जितेको हुँ । तर निःशुल्क उपचारका लागि कांग्रेस भइरहनु पर्दैन । मात्र मोरङ–३ को बसोवास प्रमाणित भए पुग्छ । उहाँले विकास निर्माणसँगै उपचार पनि प्रतिनिधि विषय भएको बताए ।

प्रकाशित मिति : २०८१ मंसिर ४ गते, मंगलवार


Scroll to Top

Janata Media