हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि

जनता संवाददाता
२०८१ मंसिर ११ गते, मंगलवार

काठमाडौँ । हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन् । कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ । प्राधिकरणले उपलब्ध गराएको मङ्सिर १ देखि १० गतेसम्मको विवरणमा सबैभन्दा बढी आगलागीका घटना भएको देखिएको हो ।

प्राधिकरणका अनुसार मङ्सिर १ गते ११ वटा विपद्का घटना भएका थिए । त्यसमध्ये आठ वटा आगलागीका मात्रै घटना थिए भने जनावरको आक्रमणबाट एक जना र लेक लागेर एक जनाको मृत्यु भएको थियो । मङ्सिर २ गते विपद्का १२ वटा घटनालाई प्राधिकरणले समावेश गरेको छ । त्यसदिन पनि विभिन्न आठ स्थानमा आगलागी भएका थिए ।

झापाको दमकमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो । यस्तै, मुस्ताङमा लेक लागेर एक जना र सुनसरीमा अर्नाले हानेर एक जना घाइते भएका थिए । मङ्सिर ३ गते दुई वटा घटनामात्रै भएका प्राधिकरणले जनाएको छ ।

मोरङमा आगलागी र बैतडीको पाटनमा सुक्खा पहिरो खस्न गई महाकाली राजमार्गमा अवरुद्ध भएको थियो । यसैगरी मङ्सिर ४ गते देशभर १६ मध्ये १३ वटा आगलागीका विपद्जन्य घटना भएका थिए ।

प्रकाशित मिति : २०८१ मंसिर ११ गते, मंगलवार


Scroll to Top

Janata Media