बाजुरामा दुई हजारभन्दा बढी मत खस्यो

जनता संवाददाता
२०८१ मंसिर १६ गते, आईतवार

काठमाडौं । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा भइरहेको उपाअध्यक्षको उपनिर्वाचनमा हालसम्म दुई हजारभन्दा बढी मत खसेको छ ।

यहाँका नौ वटा मतदानस्थलमा आइतबार बिहान ७ बजेदेखि मतदान जारी छ । यो समाचार तयार पार्दासम्म दुई हजार ४६७ मत खसेको हो ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गतबहादुर महतले अहिलेसम्म यहाँ ३३ प्रतिशत मात्र मत खसेको बताए ।

भगवती आवि एक फुयालगाउँ केन्द्रमा क र ख विन्दासैनी आविमा दुई रुडिमा क र ख साविकको जुकोटमा ३ मा क र ख स्वामिकार्तिक मावि ४ मा क र ख भैरवनाथ मावि जेरामा ५ क गरी नौ वटा मतदानस्थल छन् ।

यी सबै मतदानस्थलमा शान्तिपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । सात हजार चार सय साठी मतदाता छन् ।

उनले यस स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नं एकमा एक हजार सात सय २६, वडा नं २ मा एक हजार ३३८, वडा नं ३ मा दुई हजार ७३, वडा नं ४ मा एक हजार ४१५, वडा नं ५ मा नौ सय आठ गरी सात हजार ४६० मतदाता रहेको जानकारी दिए ।

सबैभन्दा बढी जुकोट मतदानस्थलमा मत खसेको छ । यहाँ तीन सयभन्दा बढी मत खसिसकेको प्रमुख महतले बताए ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

जसमा नेकपा (एमाले) बाट सुलोचना बुढा, नेपाली कांग्रेसबाट पुल्लीसरा शाही, नेकपा  (एकीकृत समावादी) बाट जवा शाही प्रतिस्पर्धामा छन् ।

२०७९ को स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसबाट निर्वाचित भएकी उपाध्यक्ष मैनादेवी जोशीको गत २०८० साल माघ ४ गते निधन भएपछि स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद खाली भएको थियो ।

प्रकाशित मिति : २०८१ मंसिर १६ गते, आईतवार


Scroll to Top

Janata Media