वैदेशिक रोजगारीको प्रलोभन देखाई तीन लाख ठगी गर्ने पक्राउ

जनता संवाददाता
२०८१ पुष ५ गते, शुक्रबार

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनी प्रलोभन देखाउने तीन लाख ३२ हजार रुपियाँ ठगी गर्ने ४७ वर्षीय रामजी गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार गिरीले दुबई ट्रान्सपोर्ट होल्डिङ ग्रुप अफ कम्पनीको एचआर म्यानेजर हुँ, रोजगारीको माग आएको छ भनेर विश्वास दिलाई नबिल बैंक लिमिटेडको पोखरा शाखाको खातामा पटक–पटक गरी तीन लाख ३२ हजार रुपियाँ जम्मा गर्न लगाएका थिए ।

प्रहरीका अनुसार भक्तपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा फरार रहेका गिरीलाई बिहीबार काठमाडौंको कलङ्कीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ ।

स्थायी घर साविकको कास्कीकोट गाविस वडा नं. ७ र हाल परिवर्तित ठेगाना पोखरा महानगरपालिका वडा नं. २४ भइ हाल काठमाडौं कलङ्की बस्ने गिरीमाथि सुर्खेत जिल्ला अदालतमा ३० लाख रुपियाँ बराबरको चेक अनादरसम्बन्धी मुद्दा विचाराधीन रहेको थप अनुसन्धानमा खुलेको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय चितवनमा १८ जनाभन्दा बढी पीडितहरुबाट १२ लाख १५ हजार रुपियाँ बिगो कायम भएको कसुरमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष ५ गते, शुक्रबार


Scroll to Top

Janata Media