तीन छात्राद्वारा विष सेवन, एकको मृत्यु

जनता संवाददाता
२०८१ पुष १६ गते, मंगलवार

काठमाडौं । बर्दिवास ११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका एकसाथ विष सेवन गरेका तीन जना छात्रामध्ये एक छात्राको मृत्यु भएको छ । प्रहरीका अनुसार विष सेवनबाट सिराहा धनगढी नगरपालिका १० घर भएकी १७ वर्षीया छात्रा रिङ्कु शर्माको मृत्यु भएको हो ।

शर्मालाई मङ्गलबार बिहान बर्दिवासस्थित इलाका प्रहरीले पौने १२ बजेतिर बर्दिवास ४ स्थित जङ्गली क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरी बर्दिवास अस्पताल पुर्‍याएका थिए । अस्पतालका डा. रोशन अधिकारीले अस्पताल पुर्‍याउनु अघि उनको मृत्यु भइसकेको जानकारी दिए ।

रिङ्कु साथै विष सेवन गरेका उषा पण्डित र सन्जु यादवको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । दुवै छात्राको अवस्था सामान्य रहेको अस्पतालका डा। उदय दिवाकरले बताए ।

शिक्षालयका प्रशासकीय अधिकृत दाबा योन्जनले विष सेवन गरेका तीनै जना जियोमेट्री (अमिन) विषयको प्रथम वर्षका छात्रा रहेको बताए ।

विष सेवन गर्नुपर्ने एकिन कारण खुल्न सकेको छैन । तर एकजना छात्राको टेस्ट परीक्षा बिग्रेको पीडामा विष सेवन गरेको प्रारम्भिक सोधपुछमा खुलेको छ ।

शिक्षालयले केही दिनअघि लिएको टेस्टमा मृतक रिङ्कुको फिजिक्सको पेपर बिग्रिएका कारण विष सेवन गरेको अस्पतालमा भर्ना भएको सन्जुले बताए ।

सोमबार बिदाको दिन भएकाले तीनै जना छात्रा गाइड किन्न बर्दिवास बजार गएका थिए । गाइड किनेपछि रिङ्कुले लुकेर विष पनि किनेको अस्पतालमा उपचार गराइरहेका उषा र सन्जुले बताए ।

बर्दिवासबाट खयरमारा फर्कने क्रममा जङ्गली क्षेत्रमा पुगेर रिङ्कुले पहिले आधा सिसी विष सेवन गरेका थिए । रिङ्कुको करकापमा परेर आफूहरूले पनि एक एक बिर्को सेवन गरेपछि त्यसपछि के भयो थाहा नभएको दुवै छात्राले बताए ।

रिङ्कुले विष सेवन गरेपछि ‘म त मरिहाल्छु साथै नमरे तिमीहरूलाई प्रहरीले पक्राउ गरी जेल हाल्छ’ भनेपछि डराएर बाध्य भएर एक एक बिर्को विष सेवन गरेको सन्जुले बताए । बर्दिवास प्रहरीका डिएसपी रेवतीरमण पोखरेलले घटनाबारे थप विवरण सङ्कलन र छानबिन भइरहेको बताए ।

प्रकाशित मिति : २०८१ पुष १६ गते, मंगलवार


Scroll to Top

Janata Media