भारतमा सात जनाको मृत्युसँग सम्बन्धित ‘नक्कली चिकित्सक’ पक्राउ

जनता संवाददाता
२०८१ चैत्र २६ गते, मंगलवार

काठमाडौं । सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि भारतीय प्रहरीले मङ्गलबार लन्डनमा आधारित एक प्रतिष्ठित हृदयरोग विशेषज्ञका रूपमा छद्म वेश धारण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

मध्य प्रदेश राज्यको निजी मिशन अस्पतालमा काम गरेका कथित ठगलाई ठगी र जालसाजीको आरोपमा पक्राउ गरिएको प्रहरी अधीक्षक श्रुतकीर्ति सोमवंशीले पत्रकारहरूलाई बताए ।

“उनका कागजातहरू नक्कली भएको पाइएको छ…अभियुक्त चिकित्सकलाई हाम्रो टोलीले पक्राउ गरेको छ”, सोमवंशीले भने । पक्राउ परेका व्यक्तिले आफ्नो नाम ‘नरेन्द्र जोन क्याम’ भनेका छन् । यो नाम अस्पतालको वेबसाइटमा हिन्दीमा लेखिएको नामसँग मिल्दछ ।

स्थानीय मिडियामा प्रकाशित मुखाकृतिमा उनलाई पहेँलो फुस्रो कपालसहित देखाइएको छ । राष्ट्रिय मानव अधिकार आयोगले यस वर्ष मिसन अस्पतालमा सात जना बिरामीको मृत्युको अनुसन्धान सुरु गरेको केही दिनपछि यो गिरफ्तारी भएको हो । गिरफ्तार व्यक्तिद्वारा सबै सात जनाको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको थियो ।

-अति चिन्ताजनक-

स्थानीय मिडियाका अनुसार उनले बेलायतमा रहेका वास्तविक हृदयरोग विशेषज्ञ जोन क्यामको छद्म वेश धारण गरेका थिए । जोन क्याम सेन्ट जर्जेज युनिभर्सिटी अफ लन्डनमा क्लिनिकल कार्डियोलोजीका एमेरिटस प्रोफेसर हुन् । बेलायतमा आधारित क्यामले कुनै गलत काम गरेको सङ्केत छैन । उनले एएफपीलाई यो घटना ‘अत्यन्त चिन्ताजनक’ भएको बताए ।

ती व्यक्तिले “विभिन्न समयमा मेरो छद्म वेश धारण गरेको र लन्डनको सेन्ट जर्जेज अस्पतालमा मेरो प्रशिक्षण लिएको दावी गरेको’ क्यामले बताए । क्यामले आफू र आफ्ना सहकर्मीहरूले गत पाँच वर्षदेखि ठगलाई रोक्न पटक(पटक प्रयास गरेको पनि बताए ।

“मैले पत्ता लगाएँ कि मैले यसबारे केही पनि गर्न सक्दिनथेँ, तर मेरा कम उमेरका सहकर्मीहरू, जो इन्टरनेटमा सामाजिक सञ्जालमा सक्रिय थिए, उनीहरूले आफ्नो सकेसम्मको प्रयास गरे”, क्यामले लन्डनबाट लेखेका छन्, “भारतीय चिकित्सक र हृदयरोग विशेषज्ञहरूले चाँडै नै यी व्यक्तिको मसँग कुनै सम्बन्ध छैन भन्ने कुरा पत्ता लगाए र उनलाई ‘बन्द गर्ने’ प्रयास गरे ।”

“ठगको बारेमा हालैका रिपोर्टहरू अपेक्षाकृत शान्त थिए र मैले सोचेँ कि उनीहरू सफल भएका थिए”, क्यामले भने, “पक्राउको खबर मेरो लागि दुःखद छ र सम्भवतः बिरामीहरूका आफन्तहरूको लागि अझ बढी, जो पीडित भएका हुन सक्छन् ।”

प्रकाशित मिति : २०८१ चैत्र २६ गते, मंगलवार


Scroll to Top

Janata Media