काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको सोमबार बिहान उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौं मेडिकल कलेज सिनामङ्गलका उपचारको क्रममा उहाँको बिहान ५ बजे निधन भएको जानकारी उहाँका भतिजा दुर्गाप्रसाद पौडेलले गोरखापत्र अनलाइनलाई दिए ।
शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका थिए । शास्त्री अर्घाखाँचीबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
समाजवादी चिन्तकको रुपमा परिचित शास्त्री नेपाली कांग्रेसको केन्द्रीय सदस्य, अर्घाखाँची कांग्रेसको जिल्ला सभापतिसमेत भएका थिए ।
उनका तीनवटी श्रीमतीमध्ये जेठी श्रीमती रमा पौडेलको ८६ वर्षको उमेरमा २० दिनअघि निधन भएको थियो ।
माहिली लता पौडेल र कान्छी श्रीमती माया पौडेल छन् । कान्छी श्रीमती उनकै साथमा थिए भने माहिली श्रीमती देवघाटमा बस्दै आएका छन् । शास्त्रीको निधनको खबर पाएपछि उहाँ काठमाडौं आइसकेका थिए ।
तर शास्त्रीका दुई छोरा नवीन पौडेल जर्मनी र ऋषव पौडेल जापानमा रहेकाले आउने क्रममा छन् । मङ्गलबार उनिहरू आएपछि स्वर्गीय शास्त्रीको पार्थिव शरीरलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ललितपुर सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी पनि पारिवारिक स्रोतले दिएको छ । शास्त्रीका तीन छोरी छन् ।







