सर्केगाड गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न, ५६ करोड बढी बजेट विनियोजन

जनता संवाददाता
२०८२ असार १० गते, मंगलवार

यम्बी थापा, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२।०८३ को बजेट विनियोजन गरेसँगै १६ औँ गाउँसभा सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायाको अध्यक्षतामा बसेको उक्त सभामा उपाध्यक्ष, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत सुरक्षाकर्मिको उल्लेखनीय उपस्थिति रहेको थियो।

गाउँसभाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले हालै सम्पन्न योजनाहरूको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षको बजेट तथा कार्यक्रमबारे जानकारी गराए। उनले भने,’स्थानीय जनताको सहभागिता, पारदर्शिता र जवाफदेहितालाई आधार मानेर योजना निर्माण र कार्यान्वयनमा लाग्छौँ र यो वर्ष संघीय, प्रदेश सरकारसँग सहकार्य गरी दीर्घकालीन योजनाहरु ल्याउछौँ ।’

सभामा आर्थिक वर्ष २०८०/८१ को प्रगति विवरण प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट प्रस्ताव गरिएको थियो। प्रस्तावित बजेट अनुसार शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा, वातावरण संरक्षण र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

आगामी वर्षका लागि रु. ५६ करोड ८३ लाख २९ हजार ६ सय ९२ बराबरको बजेट विनियोजित गरिएको छ। जसमा चालु अन्तर्गत ३७ करोड ३३ लाख ७० हजार ६९२ रुपैंया र पूँजीगत अन्तर्गत १९ करोड ४९ लाख ५९ हजार विनियोजन गरिएको हो । यसमा कृषि उत्पादन बृद्धि, युवाहरूको स्वरोजगार, शिक्षा स्तरोन्नति, विपद् व्यवस्थापन तथा सडक पहुँच विस्तारमा प्राथमिकता दिइएको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण केशर आचार्यले अघिल्लो वर्षका योजनाहरूको समिक्षा गर्दै नयाँ वर्षका लागि पारदर्शी कार्यान्वयन प्रणालीको खाका प्रस्तुत गर्नुभयो। उपाध्यक्ष देवकी तिमल्सिना रोकायले महिला, बालबालिका, अपांगता भएका नागरिक र सामाजिक रुपले पछाडि पारिएका समुदायका लागि लक्षित कार्यक्रम सञ्चालन गरिने बताइन्।

वडा स्तरबाट आएका सुझावहरूमा आधारभूत स्वास्थ्य सेवा विस्तार, शिक्षक दरबन्दी तथा बिधालय मर्ज, खानेपानीको दीर्घकालीन समाधान, जडिबुटी संरक्षण तथा स्थानीय उत्पादनको बजार सुनिश्चितता जस्ता विषयहरू उठाइएका थिए। पछिल्लो वर्षको भैपरी तथा आगलागी पीडितलाई समेट्ने राहत तथा पुनःस्थापना नीति अझ प्रभावकारी बनाउनु पर्ने वडा नंं. ३ का अध्यक्ष अकिल बहादुर कार्कीले बताए ।

कार्यक्रममा गाउँपालिकाले स्वास्थ सखा प्रमुख किरण बुढाथोकी र सचीव भिमराज उपाध्या लाई अबिर, खादा लागाइ सम्मान गरेको छ। त्यसै गरि गाउँपालिकाको रास्टिय गान का रचनाकार केबि सिम्पल र गाउँ कार्यपालिकाको लोगो डिजाइनर जयलाल ऐडि पनि सम्मानित भएका छन् ।

गाउँसभाले आगामी वर्षका योजना पारित गर्दै पारदर्शी कार्यान्वयनमा जोड दिन स्थानीय तहलाई निर्देशन दिएको छ। जनताको चासोका विषयहरूलाई समेट्दै विकासको गति थप तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरि गाउँसभाले प्रस्तुत बजेट तथा नीति कार्यक्रमलाई सर्वसम्मतिले पारित गर्दै कार्यान्वयनमा नागरिक सहभागिता, पारदर्शिता र जवाफदेहितालाई विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८२ असार १० गते, मंगलवार


Scroll to Top

Janata Media