काठमाडौँ । नेपालले आइसिसी को ग्लोबल अवार्ड अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेको छ । सिङ्गापुरमा शनिबार भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को वार्षिक सम्मेलनमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो ।
नेपालले लगातार दोस्रो पटक यस अवार्ड जितेको हो । सम्मेलनमा भाग लिन जानुभएका नेपाल क्रिकेट सङ्घ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले अवार्ड ग्रहण गरे ।
आइसिसीले यसअघि नै नेपाललाई एसियाली क्षेत्रको विजेताका रुपमा ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्डको मनोनयनमा पारेको थियो । यस अवार्डको मनोनयनमा नेपालसँगै अफ्रिकन क्षेत्रबाट नामिबिया, अमेरिकी क्षेत्रबाट बर्मुडा र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट इन्डोनेसिया परेका थिए ।
सम्मेलनमा पारसको दमदार प्रस्तुती
आइसिसीको सम्मेलनमा भाग लिनुभएका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं सचिव पारस खड्काले सम्मेलनमा नेपाली क्रिकेटको अवस्था र भविष्यको योजान बारे दमदार प्रस्तुति दिएका छन् ।
उनले आइसिसी सम्मेलनमा नेपाल छिट्टै टेस्ट राष्ट्र बन्ने लक्ष्यमा अघि बढिरहेको बताए । उनले पछिल्लो १० वर्षमा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो फड्को मारेको र यसमा आइसिसी, नेपाल सरकार तथा सरोकारवालाको ठूलो साथ रहेको पनि उल्लेख गरे ।
‘‘नेपालले दुई पटक आइसिसी टी–२० विश्वकप खेलिसकेको छ । नेपाल प्रिमियर लिग (एनपीएल)को सफलता, महिला क्रिकेटको प्राथमिकता, ग्रासरुट क्रिकेटको विकाससँगै विस्तारै टेस्ट बन्ने हाम्रो प्रतिबद्धता हो,’’ पारसले भने ।
उनले नेपाली क्रिकेटमा संरचनागत सुधार भइरहेको र यसले ठुलो स्टेजको रुप लिने पनि दाबी गरे । नेपाल क्रिकेटको इतिहास स्मरण गर्दै पारसले भने,’’ हामीले करिब दुई दशक नेपाली टोलीलाई डिभिजन फाइभबाट ओडीआई राष्ट्रसम्म पुर्याउने काम गरेका छौँ । अहिले हामी जहाँ पुगेका छौँ, त्यो यात्रा अविश्वसनीय छ। अब हाम्रो यात्रा रोकिँदैन, तर योजनाबद्धररुपमा अघि बढ्नु जरुरी छ।’’
उहाँले नेपालका गतवर्ष आयोजना गरिएको एनपिएललाई नेपाली क्रिकेटको रूपान्तरणकारी क्षण भएको बताए । उनले भने, ‘‘एनपिएल केवल नेपालमा मात्र सीमित रहेन, यसले अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिच्यो । आठ फ्रेन्चाइज स्थानीय लगानीकर्ताले सञ्चालन गरे, शिखर धवन र जिमी निसमजस्ता अन्तर्राष्ट्रिय खेलाडीले प्रतक्ष्य स्वाद चाखे । ब्रायन लाराजस्ता महान व्यक्तित्व नेपाल पुगे । निसमले आफ्नो पहिलो फ्रेन्चाइज टाइटल नेपालमै जिते ।’’







