सरकारमा सहभागी मन्त्रीलाई कांग्रेसको निर्देशन

जनता संवाददाता
२०८१ माघ ४ गते, शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले संसद्का विषयगत समितिमा विचाराधीन विधेयकहरूलाई टुङ्गोमा पुर्‍याउन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई आ-आफ्नो मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतका परियोजना र अन्य कार्यक्रम समयमा सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिएका हुन् ।

उनका अनुसार चालु आर्थिक वर्षको बजेट तथा वार्षिक विकास कार्यक्रममा समावेश भएका तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजनाहरू निर्धारित समयमा सम्पन्न गर्न गराउन आवश्यक पहलकदमीका लागि सम्बन्धित मन्त्रीहरूलाई बैठकले निर्देशन दिएको छ ।

उनले कांग्रेसका तर्फबाट सहभागी मन्त्रीलाई सातामा दुई निश्चित दिन खुला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन सम्पूर्ण रूपले आआफ्नो मन्त्रालयको काममा केन्द्रित हुन निर्देशन दिइएको बताए ।

उनले सांसद्हरूको सल्लाह, सुझाव र जनताका अपेक्षालाई विशेष ध्यानमा राखी कामकारबाही अगाडि बढाउनका लागि संसदीय दल कार्यसमिति र मन्त्रीहरूले सांसद्सँग समन्वय गर्ने निर्णय भएको बताए ।

साथै पार्टी मातहतका विभिन्न समितिबाट आउने नागरिकका सुझाव र मागबारे महिनामा एक पटक पार्टी केन्द्रीय कार्यालयमा मन्त्री उपस्थित भएर छलफल गर्ने र उपयुक्त सुझाव कार्यान्वयन गर्नुपर्ने निर्देशन पनि दिइएको छ ।

अनुशासन समिति संयोजकमा बडू बैठकले अनुशासन समिति गठनका लगि प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडूलाई संयोजक चयन गर्ने निर्णय गरेको छ । यसैबिच माघ २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीउपर कडाभन्दा कडा कारबाही गर्न सरकारसँग कांग्रेसले माग गरेको छ ।

प्रकाशित मिति : २०८१ माघ ४ गते, शुक्रबार


Scroll to Top

Janata Media