पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

जनता संवाददाता
२०८२ श्रावण १४ गते, बुधबार

पोखरा । कास्कीको माछापुच्छरे गाउँपालिका –३, घाचोकमा बुधबार पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पोखरा महानगरपालिका वडा २५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बुधबार दिउँसो साढे २ बजेतिर पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको जानकारी दिए । बङ्गुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको उनले बताए ।

घाचोकको लस्तीखोलास्थित हेमजा माछापुच्छरे सडक खण्डमा बिहान पौने १० बजे पहिरो गएको थियो । सोही पहिरोमा परी शिक्षक सुरजमोहन पोखरेल घाइते भएका छन् । घाचोककै शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक पोखरेलको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

पोखराबाट विद्यालय जानेक्रममा शिक्षक पोखरेल सवार मोटरसाइकललाई पहिरोले पुरेको थियो । घाइते पोखरेललाई स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए ।

प्रकाशित मिति : २०८२ श्रावण १४ गते, बुधबार


Scroll to Top

Janata Media