काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले नगरपालिकाभित्रको सुशासन र सञ्चालनलाई प्रभावकारी बनाउनका लागि हालै वडा कार्यालयको अनुगमनलाई तीव्रता दिएको छ । संयोजक शम्भुप्रसाद भट्टराईको संयोजकत्वमा रहेको सुशासन तथा क्षमता विकास समितिले कर्मचारीलाई समयनिष्ठ र सेवा प्रवाहमा केन्द्रित गराउन हालसम्म १२ वटा वडाको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा कर्मचारीको कार्यतालिका बारे जानकारी लिन भट्टराई र समितिका सदस्यहरू प्रशासन शाखा प्रमुख केदारकुमार खड्का, राजकुमार थापा र समिति सदस्य झपटबहादुर कार्कीले बुढानीलकण्ठ नगरपालिकाको वडा नं १० पुगेका थिए ।समितिले कर्मचारीहरूमा समयको पालना एक महत्वपूर्ण समस्या भएको र भविष्यमा यो समस्यालाई सम्बोधन गर्न थप कडाइ गर्ने योजना बनाएको बताए ।
वडा कार्यालय जनताको सम्पर्कको पहिलो बिन्दु भएकाले दक्ष र प्रभावकारी सेवा प्रदान गर्न कर्मचारीहरू समयनिष्ठ हुनु जरुरी छ । संयोजक भट्टराईले नगरपालिकाभित्रको सुशासन र विकासका काममा कुनै सम्झौता नहुनेमा जोड दिए ।
समितिले वडा कार्यालयको अनुगमनका साथै १३ वटै वडाको अनुगमन सम्पन्न गरी अन्य सम्बन्धित कार्यालयमा समेत पहल गर्ने योजना बनाएको छ । अनुगमन अभियानका क्रममा देखिएका समस्यालाई सम्बोधन गर्न नगरपालिकाका मेयरले कस्तो भूमिका खल्लने छन् स्पष्ट भएको छैन ।
बूढानीलकण्ठ नगरपालिकाले वडा कार्यालयको अनुगमनलाई तीव्रता दिनु नगरपालिकाभित्रको सुशासन र सञ्चालन सुधारको दिशामा सकारात्मक कदम रहेको स्थानीयवासीले बताए ।