काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच आउँदो शुक्रबार (अगस्त १५ मा) अमेरिकाको अलास्का राज्यमा महत्वपूर्ण भेटवार्ता हुने तय भएको बिबिसीले जनाएको छ । यो भेटवार्ताको उद्देश्य सन् २०२२ को फेब्रुअरीमा सुरु भएको रुस–युक्रेन युद्ध अन्त्य गर्न मार्गप्रशस्त गर्नु हो ।
राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेदेखि नै आफूले ‘२४ घण्टामै युद्ध सकाउने’ दाबी गर्दै शान्ति स्थापनाको पहल गरिरहेका छन्, यद्यपि हालसम्म भएका थुप्रै वार्ता, टेलिफोन संवाद तथा कूटनीतिक भ्रमणले ठोस प्रगति भने हुन सकेको छैन ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा बैठक अगस्ट १५ मा अलास्कामा हुने घोषणा गर्नुभयो, जुन कुरा रुसको राष्ट्रपति कार्यालय ‘क्रेमलिन’ ले पनि पुष्टि गरेको छ । क्रेमलिनका अनुसार यो स्थान ‘तार्किक र उपयुक्त’ रहेको छ । राष्ट्रपति ट्रम्पले पुटिन र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको सन्दर्भमा भने, “उनीहरूले मसँग भेट गर्न चाहन्छन् भने म हत्या रोक्न सक्ने जुनसुकै प्रयास गर्न तयार छु ।” ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, “युक्रेन र रुसका केही भूभाग साटासाट गरिने छ, जसबाट दुवै देशलाई लाभ हुने छ,” तर उनले विस्तृत विवरण दिएनन् ।
अलास्का बैठक स्थलका रूपमा चयन हुनुको मुख्य कारण ऐतिहासिक र भौगोलिक दुवै पक्षसँग सम्बन्धित छ । सन् १८६७ मा रुसले अलास्का अमेरिकालाई बेचेको थियो । भौगोलिक रूपमा पनि अलास्काको पश्चिमी किनारा र रसियाको पूर्वी भागबिच बेरिङ जलसन्धि मात्र पर्दछ ।
उता युक्रेनका राष्ट्रपति जेलेन्स्कीले यो शिखर बैठकलाई त्रिपक्षीय बनाउने चाहना व्यक्त गरेका छन् । उनले बारम्बार पुटिनसँग प्रत्यक्ष भेट नै शान्तिका लागि एक मात्र उपाय भएको बताए । राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकोफले यसै साता पुटिनसँगको वार्तामा त्रिपक्षीय बैठकको प्रस्ताव राखेको थियो तर रुसी पक्षले युक्रेनसँगको प्रत्यक्ष वार्ता केवल वार्ताको अन्तिम चरणमा मात्र सम्भव हुने भनिसकेको छ ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने रुससँग युद्धविराम गर्ने नाममा भूमिको सौदाबाजी नगर्ने जिकिर गर्नुभएको छ । उनले भिडिओ सन्देश जारी गर्दै युक्रेनले भूभागसम्बन्धी विषयमा संविधानको उल्लङ्घन नगर्ने बताए । यता रुसका राष्ट्रपति पुटिनले चीन र भारतसहित पाँच देशका राष्ट्रप्रमुखसँग युक्रेन युद्धबारे छलफल गरेका छन् ।
उनले चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को, कजाकस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेव र उज्वेकिस्तानका राष्ट्रपति सवकत मिर्जियोयेभसँग छुट्टाछुट्टै टेलिफोन संवाद गरेका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पुटिनले युक्रेन युद्धबारे अमेरिकासँगको वार्ताको तयारी र अमेरिकी राष्ट्रपति ट्रम्पका मध्यपूर्व हेर्ने दूत स्टिभ विटकफसँग भएको कुराकानीबारे छलफल गरेका थिए ।
पुटिनले मस्कोमा विटकोफसँग युक्रेन युद्धबारे तीन घन्टा छलफल गरेका थिए । त्यसपछि अमेरिकासँग भएको कुराकानीबारे पुटिनले पाँचै देशका राष्ट्रप्रमुखसँग टेलिफोन संवादमा छलफल गरेका हुन् । टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले रुस र अमेरिकाबिच निरन्तर छलफल भएको विषयलाई सकारात्मक भनेका छन् । “रुस र अमेरिकाबिच निरन्तर सम्पर्क कायम रहनु र सम्बन्ध सुधार हुनु युक्रेन सङ्कटको राजनीतिक समाधानका लागि सकारात्मक कुरा हो,” सीले पुटिनसँग भनेको चीनको सरकारी समाचार संस्था सिसिटिभीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।







