कर्णाली राजमार्गको मान्म–बिहानी खण्ड अवरुद्ध

जनता संवाददाता
२०८२ श्रावण २६ गते, सोमबार

काठमाडौं । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडकको मान्म–बिहानी खण्ड पहिरोले तीन घण्टादेखि अवरुद्ध छ ।

सोमबार बिहान ७ः३० मा गएको पहिरोले कर्णाली राजमार्गको कालीकोटको मान्म–बिहानी सडक खण्ड अवरुद्ध भएको हो ।

खाँडाचक्र नगरपालिका–५ कालिकोटमा पर्ने बिहानी छरेगाडमा पहिरो गएपछि जुम्ला र मुगुबाट सुर्खेत जान आएका गाडी रोकिएका छन् ।

रातिदेखि पानी परेकोले बिहान पहिरो गएको कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए । पहिरो हटाउन पिलिबाट जेसीभी मेसिन आइसकेको उनको भनाइ छ ।

पहिरो हटाएपछि अवरुद्ध सडक खुल्ने बताइएको छ । पहिरो हटाउन आधा घण्टाभन्दा बढी लाग्ने उनको भनाइ छ ।

तर सर्वसाधारण यात्रुहरूले भने बिहानदेखि डोजर आउँछ भने पनि ढिलासम्म नआएको भन्दै गुनासो गरेका छन् ।

बिहानी सडक अवरुद्ध भएकोले जुम्लातर्फ जाने गाडी ताडी बजारमा रोकिएका छन् । वर्षा लागेयता पानी परेको दिन पहिरो झरेर कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

 

प्रकाशित मिति : २०८२ श्रावण २६ गते, सोमबार


Scroll to Top

Janata Media