मुगुमा चार जनामाथि धारिलो हतियार प्रहार, १० जनाविरुद्ध पक्राउ पुर्जी जारी, सबै फरार

जनता संवाददाता
२०८२ आश्विन १५ गते, बुधबार

काठमाडौँ । मुगुको सोरु गाउँपालिका वडा नं ३ भिईमा एक युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गर्यो । खेल असोज १० गते शुक्रबार बिहान ७ बजेबाट सुरु गर्ने तयारी भईरहेको थियोे । सुरु गर्ने क्रममा एक्कासी झडपको स्थिति सिर्जना भयो ।

पहिला स्थिति सामान्य भएपनि राजनितिक आड र सुरक्षा कमजोरीका कारण झडप असामान्य बन्यो । झडपमा प्रकाश धामी, हिक्मत धामी, प्रकाश कार्की र जीवन धामीमाथि धारिलो हतियार प्रयोग भयो । उनीहरुलाई ७ घण्टापछि दिउसो करिब ३ बजे हेलिकप्टर मार्फत सुर्खेत उद्धार गरियो ।

खुकुरी प्रहारबाट हिक्मत जङ्ग धामीको टाउकोमा पाँच ओटा, निधारमा तिन ओटा, अनुहारमा उल्लेख्य चोट देखिएको छ । जीवन धामीको ढाँडमा चक्कु प्रहार हुँदा भित्र तिन ओटा र बाहिर पाँच ओटा र हातमा पाँच ओटा टाँका लगाइएको छ । प्रकाश कार्कीको बाँया हातको काखिमा प्रहार हुँदा पाँच ओटा टाँका लगाइएको छ । प्रकाश धामीको चक्कु प्रहारबाट बाँया हात छिनिएको न्युरो सर्जन गरी खुट्टाको नसा हातमा हालिएको छ ।

अहिले अन्यलाई डिस्चार्ज गरिएको छ । प्रकाश धामीको त्रिभुवन विश्वविद्यालय शिक्षण(टिचिङ) अस्पतालमा उपचार भइरहेको छ । चक्कु प्रहारबाट घाइते भएका हिक्मत जङ्ग धामीका अनुसार आफु चौरमा हिँडिरहेको बेला त्यत्तिकैमा केही व्यक्तिहरुको समुहले एक्कासी उनीहरुमाथि हमला गरेको हो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका त्रिभुवन विश्वविद्यालय शिक्षण(टिचिङ) अस्पतालमा उपचाररत प्रकाश धामीका अनुसार आफूले रेफ्रिको भूमिका निर्वाह गर्ने तयारीमा रहेको उनीहरुले सुनियोजित रुपमा झोलामा धारिलो हतियार बोकेर आएको झडप हुँदा उनीहरुले चक्कु प्रहार गरेका हुन् ।

हिक्मत जङ्ग धामीले चक्कु प्रहारमा संलग्न १० जना विरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय, मुगुमा जाहेरी दर्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालय, मुगुका डिएसपी रवि राज थपलियाका अनुसार जिल्ला अदालत, मुगुले प्रहरीलाई पक्राउ गर्न अनुमति दिईसकेको छ । ‘ज्यान मार्ने उद्योगमा संलग्न १० जनाको खोजि कार्य भईरहेको छ । हाल उनीहरु फरार छन् । दसैं लगत्तै उनीहरुलाई कानुनी दायरामा ल्याएर आवश्यक प्रक्रिया अगाडी बढाउछौँ ।’ जनता मिडियासँग उनले भने ।

घटना स्थलमा गएका जिल्ला प्रहरी कार्यालय, मुगुका सूचना अधिकारी अच्यूत आचार्यका अनुसार घटनाको स्थिति हेर्दा दोहोरो झडप देखिएको तर एक पक्षले चक्कु प्रहार गर्दा स्थिति असामान्य देखिएको हो ।

पक्राउ पुर्जी जारी हुनेमा मुगुको सोरु गाउँपालिका वडा नं ३ का ४५ वर्षिय डिल बहादुर धामी, २४ वर्षिय बाल कर्ण बुढा, २६ वर्षिय रवि धामी, २२ वर्षिय छविराज धामी, २४ वर्षिय मयराज बुमी, २४ वर्षिय रामचन्द्र धामी, २० वर्षिय भाग्य बुमी, १८ वर्षिय हरिबोल धामी, १९ वर्षिय पवन कार्की र २१ वर्षिय सन्देश धामी रहेका छन् । हाल उनीहरु फरार छन् । उनीहरुमध्ये दुई जनालाई पनि सामान्य चोट देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले उनीहरुबिच पहिलेदेखि नै विवाद हुने गरेको र अहिले दसैं तिहारको मुखमा सबैको जमघट भई सामान्य निहुमा झडपले असामान्य रुप लिएको, आयोजकले प्रहरीलाई कुनै किसिमको सूचना नगर्नु हो । झडप भएको गाउँ नजिकै कुनै पन प्रकारको सुरक्षा व्यवस्था नहुनु, अहिलेसम्म पनि अस्थायी प्रहरी पोष्ट सम्म पनि नराखिनु बारम्बार घटना हुनुको प्रमुख कारण मान्न सकिन्छ । लगभग दुई हजार भन्दा बढी जनसङ्ख्या भएको स्थानमा अस्थायी प्रहरी पोस्टको समेत स्थापना नगर्नु सम्बन्धित सरोकारवालाको कमजोरी देखिन्छ । उक्त स्थानमा तत्काल अस्थायी प्रहरी पोष्टको स्थापना गर्न अति आवश्यक छ ।

प्रकाशित मिति : २०८२ आश्विन १५ गते, बुधबार


Scroll to Top

Janata Media