काठमाडौं । नेकपा (एमाले) ले पार्टीको ११ औं महाधिवेशन आगामी मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ । भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
शुक्रबारदेखि सुरु भएको एमाले सचिवालय बैठक आज सम्पन्न भएको छ । महाधिवेशनको स्थानबारे भने तय भइनसकेको उनको भनाइ छ । मुलुकको लोकतन्त्र र संविधानको रक्षाका लागि एकतावद्ध भएर लाग्न एमालेले सबैमा आव्हान गरेको छ । असोज २९ देखि ३१ गतेसम्म बस्ने तयारी भएको एमाले केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनबारे थप निर्णय लिने उपमहासचिव ज्ञवालीले बताए ।
प्रतिनिधिसभाको विघटन अवैधानिक रुपले गरिएकाले यसको पुनस्र्थापनामा एमाले रहेको बताउँदै उनले भने, “सरकारको गतिविधि निर्वाचनको लयमा देखिदैन । यद्यपि राष्ट्रपतिज्यूले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तय गरिएकाले अवस्था हेरेर त्यसबारेमा पार्टीले निर्णय लिन्छ ।”
दुई दिनको बैठकमा जिवन्त ढंगले छलफल भएको बताउँदै उनले आगामी महाधिवेशनले पार्टीलाई थप एकतावद्ध बनाउने दावी गरे । नेताहरुमाथि प्रतिशोध साँध्ने अवस्थामा सरकार अघि बढेकाले सरकार निर्वाचन गराउने बाटोमा छैन भन्ने अनुमान लगाउन सकिन्छ भन्दै उनले लोकतन्त्रमा दलहरुलाई साथमा नलिएर निर्वाचन सफल हुन नसक्ने बताए ।
एमालेको दशौं महाधिवेशन २०७८ मंसिर १० देखि १३ गतेसम्म चितवनमा सम्पन्न भएको थियो । ११ औं महाधिवेशनको स्थानबारेमा केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।







