मेरो नाममा नै राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुन्छ – सुवासचन्द्र नेम्वाङ

जनता संवाददाता
२०७९ फाल्गुन १३ गते, शनिबार

काठमाडौं । नेकपा (एमाले) बाट राष्ट्रपतिका उम्मेदवार एवम् पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताएका छन् ।

शनिवार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गदैँ उपाध्यक्ष नेम्वाङले दाबी गरेका हुन् । उनले आफू सबै हिसाबले संविधानको परिपालना गर्न लाग्ने दाबी गरे ।

उहाँले स्वस्थ प्रतिस्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न आफ्नो भूमिका हुने बताए । उनले व्यवहारमा जनताको राष्ट्रपति अनुभूत हुने ढङ्गले काम गर्ने प्रतिबद्धता जनाए ।

उपाध्यक्ष नेम्वाङले भने, ‘‘सबै हिसाबले संविधानको परिपालना गर्न लाग्नेछु । आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वास भएर नै उठिरहेको हो । स्वस्थ प्रतिस्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न लाग्नेछु । अब जनताको राष्ट्रपतिको व्यवस्था गरेका छौँ । व्यवहारमा जनताको राष्ट्रपति अनुभूत हुने ढङ्गले काम गर्ने मेरो प्रयास हुनेछ । हिजो संविधान सभामा रहँदा ३१ वटा राजनीतिक दलहरूको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका निर्वाह गरेँ । संविधानको संरक्षक हुने अवसर पाएको छु ।’’

संविधान सभा अध्यक्ष एवम् पूर्व सभामुखसमेत रहेका उनले संविधानको संरक्षक हुने अवसर पाएको भन्दै संविधानको रक्षा गर्न लागि पर्ने बताए । उम्मेदवार नेम्वाङको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् भने समर्थकमा योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते, शनिबार


Scroll to Top

Janata Media