काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल खरिद गरेको छ । सोमबार केन्द्रीय बैंकले ९१ दिन र ३६४ दिनको गरी ६ अर्ब २६ करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको थियो ।
जसमध्ये १ अर्ब ६० करोडको करोडको ट्रेजरी बिल राष्ट्र बैंकले खरिद गरेर ४ अर्ब ६६ करोड मात्रै बैंकहरुलाई नवीकरण गरेको छ । सोमबार ९१ दिन अवधिको ४ अर्ब २६ करोडको ट्रेजरी बिल बोलकबोल भएको थियो । उक्त ऋणपत्रमा १६ बैंक तथा वित्तीय संस्थाले कुल ८६ आवेदन मार्फत ११ अर्ब २७ करोडका लागि बोलकबोल गरेका थिए ।
उक्त ट्रेजरी बिल बैंकहरुलाई नै बिक्री भएको राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरी बिलको डिस्काउन्ट रेट न्यूनतम ८.८३९९ र उच्च ९.२० प्रतिशत तथा औसत ९.०५९० प्रतिशत कायम भएको छ ।
सोमबार नै ३६४ दिन अवधिको २ अर्बको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएकोमा ४० करोड मात्रै बैंकहरुलाई दिएर १ अर्ब ६० करोड राष्ट्र बैंकले खरिद गरेको छ । उक्त ट्रेजरी बिल खरिका लागि ११ बैंक तथा वित्तीय संस्थाले ५९ वटा आवेदन मार्फत ७ अर्ब ५० करोडको माग गरेका थिए । उक्त ट्रेजरी बिलको डिस्काउन्ट न्यूनतम ८.९७९९ प्रतिशत र उच्च ९.०८ प्रतिशत तथा औसत ९.०३ कायम भएको छ ।