राष्ट्रिय सभा अध्यक्षको प्रश्न, सभामुखले वैधता निभाउनु पर्दैन ?

जनता संवाददाता
२०७९ आश्विन १० गते, सोमबार

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभामुख अग्नि प्रसाद सापकोटाको पदावधि र सभामुखको हैसियतमा सापकोटाले गरेका निर्णयहरुमाथि प्रश्न उठाएका छन् ।

आइतबार संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै उनले सभामुख सापकोटाले असोज ५ सभामुखको हैसियतमा गरेको निर्णय कार्यान्वयन नगराउन निर्देश गरेका छन् ।

तिमिल्सिनाले यसअघि सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई पत्र लेखेका थिए । जवाफमा आयोगले उनीहरुको र प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको थियो ।

असोज ५ गते सभामुख सापकोटाको अध्यक्षमा बसेको व्यवस्थापन समितिको बैठकले गत पुसदेखि संसद सचिवालयमा हाजिर भएर काम गरिरहेका उपसचिवहरु सुशीला आचार्य र नुमराज खनालको नाम अनुमोदन गरेको थियो ।

आफू अनुपस्थिति भएको बैठकले गरेका निर्णयप्रति असन्तुष्ट रहेर राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले सभामुखको वैधतामाथि नै प्रश्न उठाएका हुन् ।

४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि समानुपातिक तर्फको समानुपातिक तर्फको बन्द सूची दलहरुले निर्वाचन आयोगमा बुझाएसँगै सभामुखको पदावधि सकिएको संकेत गर्दै तिमिल्सनाले असोज ५ गतेका निर्णय कार्यान्वयन नगर्न महासचिवलाई निर्देश गरेका हुन् ।

समानुपातिक निर्वाचन प्रणाली बमोजिम उम्मेदवारको बन्दसूची पेश हुने अघिल्लो दिनसम्म मात्र व्यवस्थापिका संसद कायम रहेको विगतको अभ्यास रहेको र निर्वाचन आयोगबाट निर्वाचनको सघन रूपमा तयारी भइरहेको सन्दर्भ समेतलाई आधार मानी प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि नेपालको संविधान र विगतको अभ्यास बमोजिम निश्चित हुने व्यहोरा निर्वाचन आयोगबाट प्राप्त भएको तिमिल्सिनाले उल्लेख गरेका छन् ।

राष्ट्रिय सभा अध्यक्षको निजी सचिवालयले संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा थप भनिएको छ, ‘‘मिति २०७९र०६र०५ गते दिनको १।०० बजे संघीय संसद सचिवालयको सचिवालय तथा वस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न गराउन उपयुक्त नदेखिएको सम्माननीय अध्यक्षज्यूबाट निर्देश भएकाले सोही बमोजिम गर्नु गराउनु हुन निर्देशानुसार अनुरोध छ ।’

प्रकाशित मिति : २०७९ आश्विन १० गते, सोमबार