
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०७४ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदाजस्तो सहज अवस्था अहिले नभएको बताएका छन् ।
उनले अर्थतन्त्र समस्यामा रहेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न सहज नभएको बताएका हुन् ।
नेपाली कांग्रेस दाङको प्रथम जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले भने, ‘२०७४ सालमा केपी ओली प्रधानमन्त्री हुँदा जुन अनुकूलता थियो, अहिले त्यो अनुकूल पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा छैन । हाम्रो अर्थतन्त्र यसरी खस्किएको छ कि सामान्य खर्च समेत टार्नलाई अफ्ठ्यारो पर्ने स्थिति छ ।’
उनले यसपटक राजस्व संकलन कम भएकाले विगतमा जस्तो बजेट बनाउने सहुलियत सरकारलाई नभएको पनि बताए । ‘हाम्रो उत्पादन घटेको छ, ३५ वर्षपछि राजस्वमा कमी आएको छ’ उनले भने, ‘अहिले हामी अत्यन्त गाह्रो र अफ्ठ्यारो अवस्थामा छौं । वर्तमान सरकारमा बस्ने साथीहरुले यो कुरा बुझेर र साना कुरामा ध्यान दिएर काम गर्नुपर्ने आवश्यकता छ ।’