काठमाठौँ । तीन दिनअघि नेकपा एमाले छाडेका गंगाराम यादव जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले फूलमाला लगाएर पार्टीमा प्रवेश गराए ।
धनुषा–२ का प्रभावशाली नेता गंगाराम एमालेको केन्द्रीय सल्लाहकार समिति सदस्य थिए । गंगारामलाई धनुषाको डुमरियामा बिहीबार जसपाले पार्टी प्रवेश कार्यक्रम गरी पार्टीमा स्वागत गरेको हो ।
सो क्षेत्रमा प्रतिनिधिसभाको उम्मेदवार बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टीमा प्रवेश गराएपछि गंगाराम असन्तुष्ट बनेका थिए । उनले पार्टी सिद्धान्त विचार भन्दा बाहिर गएर व्यक्तिवादी ढंगले सञ्चालन भइरहेको भन्दै गत असोज १० गते एमाले परित्यागको घोषणा गरेका थिए ।
उनी २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय थिए । जसपाले उनलाई क्षेत्र नं २ मा प्रतिनिधिसभाको उम्मेदवार बनाउने आश्वासन दिएर ल्याएको स्रोतले बताएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनमा भागवण्डा मिलेको छैन ।