कुर्सी तानेर प्रधानमन्त्रीकै पछाडि बसे सुधन, किन कसैले रोक्न सकेनन् ?

जनता संवाददाता
२०८३ असार ७ गते, आईतवार

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा एउटा दृश्यले सबैको ध्यान खिचेको छ। पार्टीले केन्द्रीय पदाधिकारी र आमन्त्रित विशिष्ट व्यक्तिहरूलाई मात्रै मञ्चमा आसन ग्रहण गराएको थियो। सरकारका मन्त्री, सांसद तथा केन्द्रीय सदस्यहरूलाई भने दर्शकदीर्घाको अगाडिको पंक्तिमा बस्ने व्यवस्था गरिएको थियो। तर पदाधिकारी सूचीमा नरहे पनि गृहमन्त्री सुदन गुरुङ भने मञ्चमै बसेपछि कार्यक्रमस्थलमा चर्चा सुरु भएको छ।

उद्घाटन समारोहका लागि तयार गरिएको मञ्चमा पार्टीका शीर्ष नेतृत्व, केन्द्रीय पदाधिकारी तथा विशेष आमन्त्रित व्यक्तिहरूलाई मात्रै स्थान दिइएको थियो। सोही व्यवस्थाअनुसार संघीय मामिला मन्त्री प्रतिभा, सञ्चार मन्त्री विक्रम तिमिल्सिना, स्वास्थ्य मन्त्री निशा मेहेतालगायत मन्त्रीहरू दर्शकदीर्घाको पहिलो लहरमा बसेका देखिन्थे।

यता पार्टीका पदाधिकारीसमेत रहेका स्वर्णिम वाग्ले, शिशिर खनाल र सोविता गौतम भने मञ्चमै उपस्थित थिए। उनीहरूको मञ्चमा उपस्थिति पार्टीको निर्धारित प्रोटोकलअनुसार नै देखिन्थ्यो।

तर कार्यक्रमको सुरुआती चरणमा गृहमन्त्री सुदन गुरुङको गतिविधिले सबैको ध्यान तानेको थियो। प्रधानमन्त्री शाह र पार्टी सभापति रवि लामिछानेसँगै कार्यक्रमस्थल पुगेका गुरुङ केही समय मञ्चमा उक्लने स्थाननजिक उभिएर अवस्थाको अवलोकन गरिरहेका देखिएका थिए।

प्रत्यक्षदर्शीहरूका अनुसार सुरुआतमा उनी कहाँ बस्ने भन्ने अन्योलजस्तै देखिएको थियो। मञ्चमा उनको लागि छुट्टै आसन व्यवस्था गरिएको स्पष्ट देखिँदैनथ्यो। केहीबेरपछि भने उनले आफैं एउटा खाली कुर्सी तानेर प्रधानमन्त्री शाह र बालेनको पछाडितर्फ राखे र त्यहीँ बसे।

गृहमन्त्री गुरुङको यो कदमसँगै कार्यक्रमस्थलमा उपस्थित धेरैको ध्यान उनीतर्फ केन्द्रित भएको थियो। किनभने त्यही कार्यक्रममा सहभागी अन्य मन्त्रीहरू भने पार्टीले निर्धारण गरेको व्यवस्थाअनुसार दर्शकदीर्घामै बसेका थिए।

यही कारण अहिले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म एउटा प्रश्न उठ्न थालेको छ— के गृहमन्त्रीको मञ्चमा उपस्थिति पूर्वनिर्धारित थियो, वा उनले आफैं निर्णय गरेर मञ्चमा आसन ग्रहण गरेका हुन्रु

यद्यपि कार्यक्रम आयोजक वा सम्बन्धित पक्षबाट यस विषयमा कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। त्यसैले गृहमन्त्री गुरुङको मञ्चमा उपस्थिति विशेष व्यवस्थाअन्तर्गत थियो वा परिस्थितिजन्य निर्णय थियो भन्ने विषय अझै स्पष्ट हुन बाँकी छ।

तर एउटा कुरा भने स्पष्ट छ— उद्घाटन सत्रका क्रममा भएका विभिन्न गतिविधिमध्ये सबैभन्दा बढी चर्चा र चासोको विषय गृहमन्त्री सुदन गुरुङको मञ्चमा बसेको दृश्य बनेको छ। सामाजिक सञ्जालमा समेत उक्त दृश्यका तस्बिर र भिडियोहरू व्यापक रूपमा शेयर भइरहेका छन्।

मञ्चमा को बस्ने र को दर्शकदीर्घामा बस्ने भन्ने विषय सामान्य लाग्न सक्छ। तर राजनीति र सार्वजनिक कार्यक्रममा प्रोटोकलको विशेष महत्व हुने भएकाले गृहमन्त्री सुदन गुरुङको यो उपस्थितिले नयाँ बहस सुरु गरेको छ। अब यस विषयमा सम्बन्धित पक्षको आधिकारिक धारणा के आउँछ, त्यो भने हेर्न बाँकी छ।

https://www.facebook.com/share/v/1BWgqpcKYc/

प्रकाशित मिति : २०८३ असार ७ गते, आईतवार


Scroll to Top

Janata Media