मुन्धुमी पदमार्गलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अध्ययन सुरु

जनता संवाददाता
२०७९ आश्विन १५ गते, शनिबार

काठमाडौँ । प्रदेश नं. १ का पहाडी जिल्लाहरू तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङलाई मुन्धुमी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न अध्ययन थालिएको छ । चोत्लुङ–मेन्छ्यायेम–असाङलुङ–सेमसेमलुङ–फक्ताङलुङ–केलाङ, सित्लाङ नामक मुन्धुमी पदमार्गको अध्ययन अन्वेषण सुरु गरिएको हो ।

मुन्धुमी पर्यटकीय गन्तव्यको निम्ति विज्ञहरूको टोलीले तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सम्भाव्यता तथा जैविक विविधताको अध्यापन अन्वेषण गरेको छ । टोलीले चोत्लुङ पार्कदेखि तिनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, डोबाटे, गिद्धे, खम्बुले, सभापोखरी, तीन पोखरी, कालो पोखरी, साजु पोखरी, सोधुङ पोखरी, भुतपोखरी, तोक्पेगोलालगायत स्थानहरूको अध्ययन गरेको छ ।

आदिमकालदेखि बसोबास गर्दै आएका लिम्बु समुदायको मुन्धुम रैथानेहरूको ज्ञान अध्ययन, अनुसन्धानको पाटो बन्न सकोस् भन्ने उद्देश्यका साथ मुन्धुमी पदमार्गको अध्ययन सुरु गरिएको लालीगुराँस नगरपालिकाका नगरप्रमुख तथा मुन्धुमबिद अर्जुन माबोहाङले बताए ।

प्राचिनकालदेखि बसोबास गर्दै आएका जाती, उनीहरूले मान्दै आएको धर्म, संस्कार, संस्कृति, कला साहित्य, बोट बिरुवा, वातावरण, पशुपक्षीको अध्यापन गर्दै स्वदेशी तथा विदेशी अनुसन्धानकर्ता तथा पदयात्रीहरूलाई समेत पर्यटक सूचक पर्यटन केन्द्र रूपमा लालीगुराँस नगरपालिकालाई विकास गर्ने लक्ष्य राखिएको छ । नेपालको मुख्य पर्यटन ब्रान्ड प्रकृति, संस्कृति र साहसिक पर्यटन यी तीन वटै ब्रान्ड यो पदमार्गमा पाइने र पदमार्गलाई प्रवर्द्धन गर्न सरकारले पूर्वाधार विकासमा लगानी गर्न आवश्यक रहेको पर्यटन पत्रकार १ नं प्रदेशका अध्यक्ष बिराट अनुपमको भनाइ छ ।

पदमार्ग क्षेत्रमा संरक्षणको अभावमा धेरै प्रजातिका जनावर र बिरुवाहरू स्थानीय, दुर्लभ र जोखिममा पर्दै आएका छन् । कस्तुरी मृग, रातो पाण्डा, हिउँ चितुवा, ताकिन र पाँच औंले, कुत्कीसहित अन्य धेरै जोखिममा परेका र लोपोन्मुख वनस्पति प्रजातिहरू पाइने गरेका छन् । मुन्धुमी पदमार्ग क्षेत्र गुराँसको घना जङ्गल र विधिधता रहेको लोपोन्मुख बन्यजस्तु पाइने वनस्पति विज्ञ कमल मादेनले बताए ।

पदमार्गको अध्यायपनसँगै पदमार्ग क्षेत्रमा गोठस्टे, खानेपानी, चौतारा लगायतका भौतिक पूर्वाधार निमार्ण गर्न सके पर्यटकको मुख्य रोजाइमा पर्ने अध्यापन टोलीले जनाएको छ ।

गोरखापत्र दैनिकमा छापिएको
प्रकाशित मिति : २०७९ आश्विन १५ गते, शनिबार


Scroll to Top

Janata Media