लाइभ डिबेट सञ्चालन गर्न सञ्चार माध्यमलाई ओलीको आग्रह

जनता संवाददाता
२०७९ कार्तिक २ गते, बुधबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लाइभ डिबेट सञ्चालनका लागि सार्वजनिक सञ्चार माध्यमलाई आग्रह गरेका छन्।

विकसित देशहरूमा निर्वाचनको समयमा लाइभ डिबेटहरू सार्वजनिक सञ्चारमाध्यमबाट आयोजना गर्ने भएकाले नेपाली सञ्चारमाध्यमहरूलाई पनि उनले आग्रह गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘मैले हिजो एजेण्डा आधारित बहसका लागि नेकांका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई आमन्त्रण गरेको थिएँ। यस विषयलाई आम सञ्चार माध्यमहरूले पनि सकारात्मक चर्चा गरेको पाएँ । यसप्रति म खुसी छु।’

उनले बहसका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आमन्त्रण गरेको विषयलाई आम सञ्चार माध्यमहरूबाट पाएको सकारात्मक चर्चाप्रति खुसी व्यक्त गरेका छन्।

‘विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाइभ डिबेटहरू सार्वजनिक सञ्चार माध्यमबाट आयोजना गर्ने गरिन्छ । यहाँका सञ्चार माध्यम र सम्पादकज्यूहरूले यस विषयमा के सोच्नु भएको छ, समग्र सञ्चार जगतको ध्यानाकर्षण गर्न चाहन्छु’ उनले भनेका छन्।

प्रकाशित मिति : २०७९ कार्तिक २ गते, बुधबार


Scroll to Top

Janata Media