मोरङमा सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ

जनता संवाददाता
२०८० मंसिर ११ गते, सोमबार

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । जग्गा कारोबारीमार्फत किनबेच भएको जग्गाको सिफारिस किर्ते देखिएपछि उनीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।

स्थानीयले भने किर्तेमा जग्गाधनीको संलग्नता नरहेको दाबी गरेका छन् । प्रहरी नियन्त्रणमा रहेका पाँचै जना ६० वर्षमाथिका खेतीकिसानी गर्ने नागरिक हुन् । सात जनाको जग्गा बिक्रीका लागि दलालमार्फत प्रक्रिया अगाडि बढाइएको थियो । पक्राउ पर्नेमा रतुवामाई–४ का ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरियादेवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, पैखनलाल राजवंशी र ६४ वर्षीय कन्हारु राजवंशी छन् । बाँकी दुई जना गुञ्जीलाल र सनिता राजवंशी फरार सूचीमा रहेका छन् । उनीहरूविरुद्ध रतुवामाई नगरपालिका–३ का वडाध्यक्ष देवीलाल ताजपुरियाले सरकारी छाप दस्तखत किर्तेसम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए ।

प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भए पनि स्थानीयले उनीहरू निर्दोष रहेको दाबी गरेका हुन् । सात जनाको नाममा रहेको चार बिघा सात कट्ठा जग्गा जग्गा कारोबारीमार्फत ८७ लाख रुपियाँमा किनबेचका लागि बैनाबट्टा गर्ने तयारी भइरहेको थियो । गत कात्तिक २ गते बैना गर्न उनीहरूलाई लेखनदास भए ठाउँमा बोलाइएको थियो । इटहरीका कृष्ण थापाले लक्ष्मी कार्की, निर्मला थापासमेतको नाममा जग्गा पास गराउने बिचौलियाको काम गरेको बुझिएको छ । त्यसमा लेखनदासमार्फत बैना गराउने कागज बनाएको भन्दै रजिस्ट्रेसनमा हस्ताक्षर गराएको खुलेको छ ।

मालपोतमा जग्गा पास गराउनुअगाडि वडामार्फत बैनाबट्टाको कागज गराउनुपर्ने हुन्छ । त्यसपछि वडाबाट घरबाटो सिफारिस लिनु पर्दछ । घरबाटो सिफारिस लिँदा कर बुझाउनुपर्ने हुन्छ । जग्गा किनबेचमा कर छल्ने हुँदा नक्कली सिफारिस जग्गा दलालहरूले नै बनाएको स्थानीयको दाबी छ ।

वडाध्यक्ष ताजपुरियाले जग्गा बिक्री गर्नेहरूको नाममा घरबाटो सिफारिस लिनुपर्ने भएकाले तत्काल कागजातका आधारमा उजुरी दिएको बताए। “नक्कली घरबाटो सिफारिस लिएर मालपोत पुगेका जग्गा कारोबारीको कागजात शङ्कास्पद देखिएपछि वडाध्यक्षको नाताले मलाई फोन आयो,” ताजपुरियाले भने, “त्यसपछि प्रहरीमा खबर भएको हो । उनीहरूविरुद्ध कात्तिक १६ गते पक्राउ पुर्जी लिएर मङ्सिर ९ गते पक्राउ गरिएको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

स्थानीयवासी सनम राजवंशीले जग्गा प्रकरणमा प्रहरीले कारोबारीको जालोबारे अनुसन्धान नै नगरी निर्दोष नागरिकलाई पक्राउ गरेको दाबी गरे। उनका अनुसार बैनाका लागि बोलाएर रजिस्ट्रेसन पास गराएर जग्गा हत्याउने योजना बनेको विषय ओझेलमा परेको छ । पक्राउ पर्नेहरू सबै खेतीकिसानी गरेर गुजारा चलाउँदै आएका व्यक्ति रहेका छन् ।

झुक्याएर पास गराउने योजनामा नक्कली कागजात कारोबारीले तयार पारेको जिकिर गाउँलेले गरेका छन् ।

वडामा घरबाटो सिफारिस लिँदा करबापत बुझाएको रकम सफ्टवेयरमा इन्ट्री भएको प्रतिलिपिसमेत नक्कली रहेको थियो । कर बाँडफाँटका लागि स्थानीय तहमा इन्ट्री भएको डाटा मालपोतमा समेत स्वतः देखिने हुँदा नक्कली घरबाटो सिफारिस भएको देखिएको थियो ।

प्रहरीले घटनामा तत्काल सरकारी छाप दस्तखत किर्तेसम्बन्धी कसुरमा पक्राउ परेका पाँच र फरार रहेका दुई जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । प्रहरी नायब उपरीक्षक रञ्जन दाहालले पक्राउ परेकाहरूको बयानका आधारमा यसको अनुसन्धान थप कोणबाट हुने बताए । पक्राउ परेकाहरू ६० वर्षमाथिका रहेका कारण उनीहरूले घरबाटो सिफारिसलगायतका कामसमेत जग्गा खरिद गराउने जग्गा कारोबारीलाई जिम्मा दिएको दाबी स्थानीयको छ । जग्गा कारोबारी कृष्ण थापाले जग्गाधनीका नाममा लेखनदासमार्फत नक्कली घरबाटो सिफारिस बनाएर नक्कली चलानी नम्बर हालेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २०८० मंसिर ११ गते, सोमबार


Scroll to Top

Janata Media