टी–२० विश्वकप : भारतद्धारा नेदरल्याण्ड्स ५६ रनले पराजित

जनता संवाददाता
२०७९ कार्तिक ११ गते, शुक्रबार

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । त्यस क्रममा उसले नेदरल्याण्ड्सलाई ५६ रनले हराएको छ ।

सिड्नीमा जितका लागि १८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो । उसका लागि टिम प्रिङ्लेले २० रन बनाए । सहरिज अहमद १६ रनमा नट आउट रहे भने बास डी लिड्स र म्याक्स ओडोड समान १६ रनमै आउट भए ।

भारतका लागि भुवनेश्वर कुमार, अर्शदीप सिंह, अक्षर पटेल र रविचन्द्रन आश्विनले समान २ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।

भारतका ३ जना ब्याट्सम्यानले अर्धशतक पूरा गरेका थिए । ओपनर केएल राहुल व्यक्तिगत ९ रनमा आउट भए पनि अर्का ओपनर रोहित शर्माले ५३ रन बनाए । उनले ४ चौका र ३ छक्का हाने ।

नेदरल्याण्ड्सविरुद्धको तेश्रो छक्कासँगै रोहित टी–२० विश्वकपमा सबैभन्दा धेरै छक्का हान्ने भारतीय खेलाडी बनेका छन् । उनले ३३ छक्का हानेका युवराज सिंहलाई उछिनेका हुन् ।

नेदरल्याण्ड्सँगका खेलमा विराट कोहली ६२ र सूर्यकुमार यादव ५१ रनमा नट आउट रहे । कोहलीले ३ चौका र २ छक्का तथा यादवले ७ चौका र १ छक्का हानेका थिए । कोहलीले यसअघि पाकिस्तानलाई हराएको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेदरल्याण्ड्सका फ्रेड कलास्सेन र पउल भान मिकेरेनले १–१ विकेट लिए ।

प्रकाशित मिति : २०७९ कार्तिक ११ गते, शुक्रबार


Scroll to Top

Janata Media