यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई अफगानिस्तानले दियो १४६ रनको झिनो लक्ष्य

जनता संवाददाता
२०८० माघ १२ गते, शुक्रबार

काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको चुनौती दिएको छ। शुक्रबार दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्क मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १४६ रनको चुनौती दिएको हो।

टस हारेर बलिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा १० विकेट लिँदै अफगानिस्तानलाई १४५ रनमा समेटेको हो। अफगानिस्तानलाई मध्यम स्कोरमा समेट्न नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट लिए। दीपेश कँडेलले दुई विकेट लिए भने गुल्सन झा, तिलक भण्डारी र सुवास भण्डारीले एकएक विकेट लिएका छन्। नेपालले केही बेरमै जवाफी ब्याटिङ गर्दैछ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानलाई जित्नै पर्ने दबाब छ। प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपाललाई जित्नैपर्ने दबाब रहेको हो।

समूह ‘डी’ को पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। त्यस्तै, दोस्रो खेलमा नेपालले पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो। आजको खेलमा जित निकाले नेपाल सुपर सिक्समा पुग्नेछ। यता अफगानिस्तानले पनि नेपाललाई पराजित गरेमा सुपर सिक्समा पुग्नेछ।

अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानसँग एक ८१ रन र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो।

नेपालको प्लेइङ ११ मा कप्तान देव खनालसहित विपिन रावल (विकेटकिपर), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक बोहोरा, गुलशन झा, दीपक डुम्रे, दीपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द र तिलक भण्डारी हुन्।

प्रकाशित मिति : २०८० माघ १२ गते, शुक्रबार


Scroll to Top

Janata Media